काठमाडौं- आज २६ अप्रिल। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित प्रमुख घटनाको सारसंक्षेप।
– सन् २००५- लेबनानबाट सिरियाली सैन्य कब्जा अन्त्य
सिरियाले सन् २००५ मा आजकै दिन २९ वर्षदेखि लेबनानमाथि गरिरहेको सैन्य कब्जा अन्त्य गरेको थियो। सोही वर्ष १४ फेब्रुअरीमा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरारीको हत्यापछि सिरियामाथि आफ्ना सैनिक फिर्ता लैजान अन्तर्राष्ट्रिय र घरेलु दबाब परेको थियो। ती दबाबसामु सिरियाले घुँडा टेकेको थियो।
– सन् १९८९- बंगलादेशमा तुफानमा परी १३ सयको गयो ज्यान
सन् १९८९ मा बंगलादेशमा आएको समुद्री तुफानमा परी १३ सय जनाको ज्यान गएको थियो। तुफानले बंगलादेशको मध्य क्षेत्रमा सबैभन्दा बढी क्षति गरेको थियो।
– सन् १९८६- चेर्नोबिलमा परमाणु दुर्घटना
युक्रेनको चेर्नोबिलस्थित परमाणु भट्टी आजकै दिन विष्फोट भएको थियो। त्यतिबेला युक्रेन तत्कालीन सोभियत संघको हिस्सा थियो। परमाणु ऊर्जा संयन्त्रको रियाक्टर ४ मा विष्फोट भएको थियो। र, त्यहाँबाट उठेको धुवाँले पूरै युरोपका प्रदूषण फैलिएको थियो। यो विश्व इतिहासको सबैभन्दा ठूलो परमाणु दुर्घटना मानिन्छ। तत्काल ३० जनाको मृत्यु भए पनि केही दशकसम्म यसको असर कायम रहने हुनाले युरोपमा हजारौंको मृत्युको कारण चेर्नोबिल दुर्घटना हुने अनुमान छ।
– सन् १८६५- लिंकनका हत्याराको पनि हत्या
तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्या गरेका जोन वाइक्स बुथको पनि घटनाको १२ दिनपछि हत्या भएको थियो। तथापि, उनको हत्या कुनै सुरक्षाकर्मीले गरेका हुन् कि आफैंले आफैंमाथि गोली प्रहार गरेका थिए भन्ने कहिल्यै खुलेन। भर्जिनियास्थित खेतमा उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए।
– सन् २०२३- ‘पेले’ शब्द राखियो डिक्सनरीमा
ब्राजिलका सर्वकालिक महान फुटबल खेलाडी पेलेको सम्मानस्वरूप त्यहाँको शब्दकोशमा उनको नाम समावेश गरिएको थियो। ‘ब्राजिलियन पोर्चुगिस’ भाषाको शब्दकोशमा ‘पेले’ शब्दलाई ‘असाधारण, अतुलनीय र अद्वितीय’ अर्थ लाग्ने गरी समावेश गरिएको होे।
– सन् २०१९- अमेजन जंगलमा वेओरानी मानिसको जित
पास्ताजाका वेओरानी जातिका मानिसले सन् २०१९ मा आफ्नो ५ लाख एकड जमिनमाथिको मुद्दा जितेका थिए। अमेजनको वर्षा वनमा बस्ने ती जातिका मानिसले इक्वेडोर सरकारविरुद्ध पर्यावरण संरक्षणको मुद्दा दायर गरेका थिए। र, ऐतिहासिक रूपमा मुद्दा जितेका पनि थिए।