कैलाली– धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको “अब धनगढी दौडन्छ” धनगढी हाफ म्याराथनको तयारी पूरा भएको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी पूरा भएको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।
आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको सम्पुर्ण तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले बताए। २०७१ सालदेखि नयाँ बर्षको अवसरमा आयोजना हुँदै आएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत समेत प्राप्त गरेको छ। यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरूले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए।
धनगढी हाफ म्याराथनको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्नेछन्। विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर सहिद गेट हुदैं गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ।