बडका भलमन्साले सुनेका थिए
विमानस्थल बनेपछि
ठूला विदेशी जहाजको लर्को लाग्ने छ
पर्यटकका ताँती झर्ने छन्
देशको पर्यटनले नयाँ झण्डा गाड्ने छ
होहल्लासँगै
उद्घाटन पनि भयो
तर खोइ जहाज ?
कता गए पर्यटक ?
सुनसान छन् विमानस्थल
तर अहिले थाहा भो
जनताको आँखामा छारो हाली
आफ्ना पोल्टा भर्न
पोखरा, लुम्बिनी विमानस्थल
बनाइएका रहेछन्
यात्रु स्वागत गर्ने
जिम्मा लिएका कर्मचारी
घाम ताप्दै ठिक्क छन्
पासपोर्टमा छाप हान्ने मसी
कक्रक्क सुकेको छ
कम्प्युटर मस्त निन्द्रामा छन्
एयरपोर्टमा बास बसेका मुसा
चिप्लेटी खेल्दै रमाएका छन्
मुसाका नयाँ पुस्ताले
गज्जब हुर्कने खेल्ने ठाउँ पाएका छन्
जहाज ओराल्न मिल्दैन
भन्ने थाहा हुँदा हुँदै
कसका लागि
र
केका लागि यत्रो खर्च गरियो ?
जनतालाई केका लागि ऋण बोकाइयो
धारे हात लाउँदै
बडका भलमन्सा भन्दै थिए
आफ्नो टोल, घर, आँगन, टावर
आफूले बेचेका सरकारी जग्गाको छेउ
एउटा-एउटा विमानस्थल बनाऊ
देश जनताले नसम्झे पनि
तिम्रा प्रशस्ति गान गाउने
झोलेले त सम्झेलान्
तिनले भए पनि
तिम्रा प्रशस्ति गान गाउलान्