कैलाली- सोमबार साँझ काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजको मर्मत कार्य अझै सकिएको छैन।
जहाज अवतरण क्रममा अगाडिको एउटा चक्का फुस्केको थियो। सोमबार साँझ काठमाडौंबाट धनगढी आएको जहाजलाई अवतरण गरेर पार्किङतर्फ मोड्ने बेलामा अगाडिको एउटा चक्का खुस्केर झाडीमा पुगेको थियो।
जहाज ग्राउन्डेड भएपछि मर्मत गर्ने भन्दै श्री एयरलाइन्सका रजिस्ट्रेड इन्जिनियर र नागरिक उड्डयन कार्यालय २ जना इन्जिनियर धनगढी पुगेको नागरिक उड्डयन प्राधिकरणका (क्यान) सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। जहाजको चक्का के कति कारणले खुस्किएको हो भन्ने विस्तृत अध्ययनपछि मात्रै क्यानको आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए।
फ्लाइट नम्बर एएनएच २२७ भएको जहाज अवतरण गरिसकेपछि चक्का फुस्केको चाल पाएका एयरलाइन्सका कर्मचारी, प्रहरी र विमानस्थलका कर्मचारी मिलेर खोजी गर्दा झाडीमा फेला पारेको हो।
तर, त्यसबारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया धनगढी एयरपोर्टका प्रमुख गणेशबहादुर सिंहले दिएका थिए। जहाज टेक्निकल फल्ट भएको भन्ने मौखिक जानकारी मात्रै पाएको उनले बताएका थिए।