काठमाडौँ । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीले आफूहरुलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनु पर्ने माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरुले उक्त मेडिकल कलेजमा आफूहरुको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरुलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनु पर्ने माग गरेका हुन् । उनीहरु गत मंसिर २८ गतेदेखि निरन्तर आन्दोलनरत छन् ।
कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरुको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन् । यस्तै, उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीमाथि मात्र नभएर अभिवाभकलाई समेत फोन गरेर दबाब दिन थालेको बताइन् ।
कार्यक्रममा आन्दोलनरत पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै, अर्की पीडित विद्यार्थी सदिक्षा आर्चायले आफूहरुले हार गुहार गर्दा पनि राज्यले निरिहता देखाएको आरोप लगाइन् । तीन महिनासम्म विद्यार्थी सडकमा आउँदा चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ ? भन्दै प्रश्न उठाइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका पूर्व महामन्त्री बलदेब तिमल्सिनाले चिकित्सा शिक्षाजस्तो गम्भीर विषयका विद्यार्थीहरु सडकमा आएको तीन महिना हुँदासम्म समस्याको समाधान नभएकोमा दुःख व्यक्त गरे । उनले आफूहरुको साथ र समर्थन सधैं विद्यार्थी को पक्षमा रहेको बताए ।
उनले तस्करी र माफियागिरी गर्न पल्किएकाको हातमा शिक्षण संस्थाहरु सुम्पिँदा अहिलेको समस्या उत्पन्न भएको आरोप लगाए । उनले विद्यार्थीहरुको आन्दोलन टुँगो लगाउनु पर्छ भनेर पटकपटक सम्बन्धित निकायसँग छलफल गरेको सुनाए । उनले शिक्षामन्त्रीले यो विषयमा धेरै निरीहता प्रकट गरेको गुनासो पोखे ।
नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफुहरु पीडित विद्यार्थीहरुको आन्दोलनमा सँगसँगै रहेको बताए । यस्तै, उनले सुनील शर्मा मेडिकल शिक्षामा सबैभन्दा हानिकारण तत्व भएको आरोप लगाए । ‘अहिलेसम्म सरकारले उनलाई कारबाही गर्नु नसक्नु लज्जाको विषय हो’, उनले भने ।
नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेश समिति सदस्य सञ्जिब रेग्मीले आफूहरु हिजो र आज पनि विद्यार्थीहरुसँगै रहेको भन्दै भोलिका दिनमा सँगै रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।