आफू असुरक्षित भएको
कारण खोज्न बाघ, गैंडाले
महासम्मेलन आयोजना गरेका छन्
बर्दिया, शुक्लाफाँटा र
छिमेकी भारतका
बाघ, गैंडा पनि सामेल हुन आएका छन्
चितवनका टोली नेताले भने-
राज्यका यत्रा संयन्त्र भए पनि
हामी असुरक्षित भयौं
कहिले करेन्ट लगाएर मार्छन्
कहिले गोली ठोकी
कहिले पासो थापी
कहिले विष खुवाई
अब त खाल्टो खनेर पनि मार्न थाले
हाम्री श्रीमती विधवा भइन्
हामी विधुर भयौं
हाम्रा बच्चा अनाथ भए
कहाँ गएर लुक्ने हो
कसले हामीलाई जोगाउने हो
केही भए सरकारले
समिति गठन गर्ने
हामीलाई जोगाउन पाइला नचाल्ने
के चाला हो यो ?
यस्तै भए हामी नरहे
नेपालका जंगल हेर्न को आउने ?
किन आउने ?
भारतका टोली नेताले भने-
हाम्रो भेटघाट पनि पातलो भयो
यही कारण हो हामी
यता आउन छाडेको
अहिले पनि डराई-डराई आएको
अब कसैको भर भएन
त्यसैले
एउटा सप्ताह लगाउने
व्रत राख्ने कार्यक्रम गर्ने कि ?
त्यसले पनि नभए
धुर्वे, रोनाल्डो हाथीलाई गुहार्ने
तिनले त हामीलाई जोगाउलान्