कहिले हिँडेर आउँछु
कहिले गुडेर आउँछु
कहिले उडेर आउँछु
दम छ भने रोकेर देखा !
Advertisement
सुनको डल्लोले खुलेआम
धम्की दिँदै थियो
मेरो हल्लाले बजार तात्छ
संसदमा बहस हुन्छ
म आएपछि बबण्डर मच्चिन्छ
फेरि सबै सेलाउँछ
तर म आउन छाड्दिनँ
उत्तरबाट आउँदा सजिलो छ
यहाँकाले भाषै बुझ्दैनन्
गाडीमा लुकेर आयो पत्तै पाउँदैनन्
लेकको बाटो हिँडेर आयो
कसैलाई वास्तै हुँदैन
उडेर आउँदा
कहिले सुटकेसमा कहिले ब्रेकसुमा
कहिले भुँडीभित्र लुकेर आउँदा
पत्तै पाए पो
मलाई देखे पनि
नदेखेझैं गर भन्छु
मान्छन् पनि
नमाने फोन गराएर थर्काउँछु
थर्किन्छन् पनि
थोरै पक्रे थोरै भो भन्छन्
धेरै पक्रे धेरै भो भन्छन्
मलाई यहाँको
आतिथ्य मन पर्छ
मरिगए पनि आउन छोड्दिनँ
आँट छ मलाई रोक्ने ?
मेरो बाटो छेक्ने ?
रोक त कसरी रोक्छौ ?
म पनि हेर्छु