मैले एनसेलबारे चली रहेको बबन्डर हेरी
एनसेलसँग गलफत्ती गर्ने विचार गरें
दाजु लैनचौर नजिकै
चिया पसलमा भेटम् न
डराएको आवाजमा भन्यो
भेटेको त हुलिया अर्कै देखें
बेलायतबाट फर्केपछि
रूप फेरिएको रहेछ
केही वर्ष पहिला रुसी
ओभरकोटमा ठाँटिएको देखेको
अहिले त बेलायती सुटमा
सजिएको रहेछ
मैले भनें के हो तिमीले
सरकारलाई ठगेका छौ रे ?
कर लुकाउँछौ रे ?
सरकारलाई छक्याएर मालिक फेर्छौ रे ?
भ्रष्टाचारको पैसा तह लगाउँछौ रे ?
रुन्चे स्वरमा उसले भन्यो
मेरो दुःख सुन्नु न
मेरो छातीमा कान राख्नु त दाजु
मभित्र भएका पीडा
थाहा पाउनु हुनेछ
मैले छातीमा कान राखेको त
सुदूरपश्चिमको देउडा सुनें
क्रान्तिका गीत सुनें
मैथिली संगीत सुनें
पैसा-पैसा भन्दै रुवावासी गर्ने
महिलाको आवाज सुनें
मिलाएर ल्याउँछु हजुर भन्ने
कारिन्दोको आवाज सुनें
चियर्स भन्दै दलालहरूको
अट्टाहास सुनें
मैले भनें भैगो तिम्रो दुःख बुझें
अरूलाई भनेर केही हुने छैन
तिम्रा दुःख
अमरेश र नातिराजालाई सुनाइदिउँला
तिनै छन् अहिले कराउने
अरूलाई त के भन्नू
कोही सिरक ओढी सुतेका छन्
कसैको मुखमा टेप लागेको छ त
कसैको मुखमा माँड