• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

हिमालमा हराए हिउँ र ताल


शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्नो उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित छन्। भन्छन्, ‘विगतमा मानिस र जंगलका बोटबिरुवा फरक भएको देखिन्थ्यो। तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ।’

Advertisement

‘हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गंगापूर्ण तालको क्षेत्रफल निकै ठूलो थियो। अहिले बगर बनेको छ। ताल नै छैन। त्यही तालदेखि गंगापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन। आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो,’ उनी सम्झिन्छन्। पहिले-पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउँछन्।

‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ। समयमा हिमपात हुनै छाड्यो। यसले यहाँ धेरै असर गरेको छ। समयमा हिउँ नपर्दा नै होला हिमाल नांगिन थालेका छन्,’ उनी भन्छन्, ‘हिउँ पनि माथि-माथि सरेको जस्तो लाग्छ।’ उनलाई जिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रूपमा लोप नै हुन्छ कि भन्‍ने त्रास बढेको उनी बताउँछन्। भन्छन्, ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो। हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै ! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ।’

जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ। जलवायु परिवर्तनका असरलाई समयमै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्‍वव्यापी रूपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्‍नेछन्। नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउँछन्। उनी भन्छन् ‘पहिले-पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौं। अहिले लार्के पिक हराएको छ।’

‘मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ। तर त्यो लार्के पिक अहिले छैन,’ गुरुङ भन्छन्, ‘०४३ सालसम्म लार्के पिक थियो। अहिले त्यो नांगो डाँडा भइसकेको छ। यसबारे सरकारले अध्ययन नै गरेको छैन। यस्ता विषयलाई सरकारले गम्भीर रूपमा लिन सक्नुपर्ने हो।’

पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो। ‘हिजो देखेको ताल आज देख्‍न नपाउने, हिजो देखेको हिमाल आज देख्‍न नपाउने। हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ,’ गुरुङ भन्छन्, ‘उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौं। बेला-बेलामा विपद खेप्‍नुपरेको छ। तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौं।’

पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्‍व नै फेरबदल भएको लाग्न थालेको बताउँछन्। अरू क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ। उनी भन्छन् ‘यहींको गंगापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो। हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन्। यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ ?’

नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन्, ‘ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो। कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो। आजभोलि आरीघोप्टे पानी पो पर्छ। गएको वर्ष त हिउँ देख्‍न पनि पाइन्‍न भन्दाभन्दै बेमौसममा हिउँ पर्‍यो। त्यो पनि पर्याप्त परेन।’

खेतबारीमा पहिले भएका किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेको उनी बताउँछन्। ‘यहाँका डाँडाहरूमा भेटिने हाब्रे पनि लोप भएका छन्। डोना तालको बाटोबाट गोठमा जाँदा ४०-५० वटा हाब्रे भेट्थ्यौं। एउटै रुखमा ५-७ वटा हुन्थ्यो। १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो। आजभोलि खोज्दा पनि देखिँदैन,’ उनी भन्छन्।

 

हिमाली जिल्लामा विपद्

२०७८ सालमा मनसुनको शुरुआतमै विपद आइलाग्यो। मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्‍यायो। मर्स्याङ्दी किनारका बस्ती खण्डहर भए। १४ जेठ र १ असार ०७८ मा अतिवृष्‍टि भयो। अतिवृष्‍टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो, जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन। मर्स्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन्। विगतमा हिउँ पर्ने स्थानमै अहिले वर्षा हुन थालेको छ। यसले पनि यहाँका बासिन्दामा त्रास छ।

मर्स्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्‍याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका बासिन्दा बताउँछन्। ‘नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन। एक्कासी बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो। हामीभन्दा पनि ज्येष्‍ठ नागरिकले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौं,’ नासों गाउँपालिका-१ का वडाध्यक्ष मीनराशी गुरुङ भन्छन्, ‘अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन्। परम्परागत बुझाइअनुसार कली बहुलाएको भन्‍ने पनि गरिन्छ।’

तालगाउँका खोलामा विस्तारै माछा भेटिन थालेको उनी बताउँछन्। ‘यहाँका खोला नदीमा माछा नै पाइँदैन थियो। अहिले देखिन थालेको छ। यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो। पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौं। तर, ल्याएर हालिएको भुरा नै मरे,’ उनले भने, ‘आजभोलि खोलामा माछा मज्जासँग खेलिरहेको देखिन्छ। अनौठै लाग्छ।’

चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ। तर, विगतमा ट्राउट माछा बाँच्‍नै नसक्ने भए पनि अहिले व्यावसायिक रूपमा पाल्न थालिएको उनी बताउँछन्। ‘हिउँ पर्ने सिजन नै फेरिएको छ। हामीले उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरिरहेका छौं,’ नासों गाउँपालिका-६ तिल्चेका होटल व्यवसायी गुणराज गुरुङ भन्छन्, ‘पुस-माघमा बेस्सरी हिउँ पर्थ्यो। आजकल वैशाख, जेठमा पर्छ। यसको कारण के हो ? झारपातमा पनि धेरै फरकपन आएको छ। नौला नौला झारपात देखिन थालेका छन्। हाम्रो ठाउँमा खुर्सानी र गोलभेंडा हुन्थेन। आजभोलि व्यावसायिक खेती हुन थालेको छ। भेडेखुर्सानी मजाले उत्पादन भइरहेको छ।’

यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उनी बताउँछन्। ‘प्याज, काँक्रो पनि उत्पादन हुन थालेको छ,’ भन्छन्, ‘यहाँको तापक्रममा पनि परिवर्तन आएको छ। विगतमा बाक्लो ज्याकेट र स्विटर लगाएर बस्ने हामी अहिले दिउँसोमा टिसर्ट लगाएर बस्छौं। कारण के हो भन्‍ने त हामी गाउँलेलाई के थाहा ? तर, वर्षैपिच्छे दैनिकीमा ठूलो अन्तर भोगिरहेका छौं।’ हिउँ पर्ने स्थानमा अहिले झरी पर्न थालेको उनी बताउँछन्।

दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्‍यो। हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे। अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो। केही घर बगायो पनि। ‘आम्मामा पहिलोपटक फूमा यत्रो ठूलो झरी पर्‍यो। गाउँलेको भागदौड नै चल्यो नि,’ नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्‍‍जो तेञ्‍‍जिङ लामा भन्छन्, ‘ग्लेसियर पग्लेर जमिन मरुभूमिजस्तो हुन थालेको छ। गाउँलेको जीवनमा धेरै संकट आइरहेको छ।’ उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरू हराएको उनी बताउँछन्।

नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ। सन् १९९४ मा नाप्दा तालको लम्बाइ एक हजार तीन सय मिटर थियो। सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो। अहिले नाप्यो भने अझै बढेको छ। ‘तालको लम्बाइ बढ्यो, चौडाइचाहिँ घटेको छ। कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,’ नासों-५ का वडाध्यक्ष थुतेन लामा भन्छन्। अचेलका अव्यवस्थित विकासका कारण भूक्षयका घटना बढेको उनी बताउँछन्।

हिमाली क्षेत्रमा लामो समय अनुभव बटुल्नुभएका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रूप देखाएको बताउँछन्। ‘हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजो जस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु ? माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,’ उनी भन्छन् ‘जंगलमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ। गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ।’ सरकारले समयमै जलवायु परिवर्तनको नियन्त्रणको उपाय खोज्‍नुपर्ने उनको भनाइ छ।

                                     

पर्याप्त परेन हिउँ

गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन। विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामै हिउँ परेन। गत वर्षको फागुन मध्यसम्म हिमपात नै भएन। सो समयमा आंशिक मात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताउँछन्। ‘पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन,’ उनी भन्छन्, ‘यस वर्ष शुरुआती हिमपात भयो। जाडो शुरु भएको छ। डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन।’

गत वर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रूपमा हिमपात भएको अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका ओमबहादुर गुरुङ बताउँछन्। ‘विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्य भएर ढाकिएका हुन्थे। गत वर्ष आंशिक रूपमा देख्‍न पनि मुस्किल भयो,’ उनी भन्छन्। हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्‍यो, मनाङका कृषक चिन्तित भए। हिमाली जिल्लामै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्‍ने भन्‍ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङ बताउँछन्। ‘मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हुन्। हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन,’ उनी भन्छन्।

मनाङमा कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो सातादेखि हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिउँ झरेन। वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीयवासी बताउँछन्। यसरी हिउँको पानी सिञ्‍‍चित भएर खेतीपाती गरिने स्थानमा हिमपात नहुँदा मनाङलगायत हिमाली र उच्च पहाडी क्षेत्रका कृषकको उत्पादन घट्ने क्रम बढ्दो छ।

हिउँ चितुवाको संरक्षण

हिउँ चितुवालाई हिमालको रानी मानिन्छ। यसले हिमाली क्षेत्रको वातावरणको सूचक पनि हो हिउँ चितुवा। अहिले हिमाली क्षेत्रमै लोपोन्मुख अवस्थामा पुगेका छन्। लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको हिउँ चितुवा संरक्षण केन्द्र पाङजे फाउन्डेसनका संयोजक नरेन्द्र लामा बताउँछन्। भन्छन्, ‘हिउँ चितुवाको भूमिकालाई मानवले बुझ्‍न आवश्यक छ।’

उनका अनुसार लोपोन्मुख हिउँ चितुवाको संरक्षण र प्रबर्द्धन गर्नुपर्ने अवस्था छ। भन्छन्, ‘अब हिउँ चितुवा र संस्कृतिको प्रबर्द्धन गर्दै पर्यटक आगमनलाई वृद्धि गर्नुपर्छ। हाम्रो मुख्य आयस्तर नै पर्यटन भएकाले यसको पनि उपयोग गर्नुपर्छ।’ हिउँ चितुवा जृद्धिले वातावरण सन्तुलनको सन्देश जाने उनी बताउँछन्। हिउँ चितुवाको वृद्धिले वातावरण सन्तुलन छ भनेर बुझ्‍न सकिन्छ भने चितुवाको संख्या घट्नुले जलवायु परिवर्तन भएको स्पष्‍ट सन्देश दिएको यहाँका ज्येष्‍ठ नागरिकहरू बताउँछन्। चितुवाको संख्या घट्नुले जलवायु खलबलिएको लामा बताउँछन्। विश्‍वमा नेपाल हिउँ चितुवाको बासस्थानका रूपमा परिचित रहेको विज्ञ बताउँछन्।

अन्‍नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेल भन्छन्, ‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ। हिमाली वातावरणको सूचक हिउँ चितुवा हो। जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ, त्यो हिमाली क्षेत्रको वातावरण सफा छ, स्वच्छ छ, हिमाली वातावरण सन्चो छ भनेर बुझिन्छ।’

विश्‍वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन्। तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्‍न हिमाली क्षेत्रमा रहने गरेको छ। मनाङमा करिब २५ रहेको आकलन गरिएको अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ। कार्यालयका अनुसार केही वर्षयता चितुवाको संख्या घटेको अनुमान छ। यसले कम संख्या हुने भए पनि विश्‍वको वातावरण सन्तुलनमा भूमिका खेल्ने विज्ञहरूको भनाइ छ।

हिमाल काला पत्थर

वर्षमा दुई पटक हिमपात हुने मनाङमा आजकल हिमपात मुस्किलले हुन्छ। हिमपात नभएपछि यहाँका हिमशृंखला कालापत्थरमा परिणत भएको देखिन्छ। पुसदेखि माघसम्म हिउँले ढाकिएर सेताम्य देखिनुपर्ने हिमालमा हिउँ कम देखिन थालेको स्थानीय याङ्दुङ गुरुङ बताउँछन्। भन्छन्, ‘पहिलेजस्तो हिमपात अहिले हुँदैन। हिमपात हुन नसक्दा हिउँको मात्रा घट्दै गएको छ।’

मौसम फेरिएर पुस-माघमा हिउँ नपर्ने र फागुन-चैतमा हिउँ पर्ने गरेको उनी बताउँछन्। हिउँ कम पर्दा अन्‍नपूर्ण दोस्रो, तेस्रो, चौथो, चलु फरेस्ट, हिम्लुङ, मनास्लु, निलगिरि, तिलिचो पिक, थोराङ पिकलगायत हिमालको रङ उडेझैं फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महशुस गर्न थालेको अन्‍नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेल बताउँछन्। जंगली फूलहरूमा समेत त्यसको प्रभाव देखेका छन् उनले।

फेरिँदै व्यवसाय

हिमाली क्षेत्रका किसान पनि परम्परागत पशुपालन व्यवसायलाई फेर्न बाध्य हुन थालेका छन्। पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै महत्त्व राख्‍ने गरेका मनाङको नासों गाउँपालिका-४ का पशु व्यवसायी सुरेश थकाली बताउँछन्। व्यावसायिक पशुपालनमा लागेका थकाली मौसम फेरिँदा पशुपालन घट्न थालेको बताउँछन्। ‘पहिला याक, चौंरी गन्‍न नसक्ने गरी पालिन्थ्यो। अहिले त कति छ भनेर आँखा अगाडि फ्याट्टै भन्‍न सकिन्छ। वातावरणमा आएको परिवर्तनले चरनका खर्क माथि सरेका छन्,’ उनी भन्छन्। पहिले करिब एक सय याक, चौंरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको थकाली बताउँछन्।

थकालीको गोठमा अहिले झोपा (चौंरी र गाईको क्रस) पालिएको छ। याक, चौंरीको चरन क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेका हुन् उनले। ‘पशुपालक किसान आजभोलि लेकका खर्कतर्फ जान चाहँदैनन्। खर्कमा याक, चौंरी पाल्न सकिँदैन। पहिला ६०-७० याक, चौंरी पालेको थिएँ, अहिले ४०-५० झोपा पाल्न थालेको छु,’ व्यवसायी थकाली भन्छन्।

ढुवानी र ऊनका कपडा लोप हुँदै

विकट तथा हिमाली जिल्लामा पशुपालनका रूपमा रहेको याक, चौंरी, घोडा, खच्चर ढुवानीका प्रमुख साधन हुन्। मोटरेबल सडक निर्माण भएसँगै ढुवानीका प्रमुख साधन नै फेरिएको छ। विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याक, चौंरीको प्रयोग गरिन्थ्यो। गणना गर्न नसकिने याक चौंरीलाई भारी बोकाएर एक स्थानबाट अर्को स्थानमा सामान ल्याउने लैजाने गरिन्थ्यो। तर, अहिले मनाङमा यस्तो गरिन्थ्यो भन्‍ने एकादेशको कथा बनेको छ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्‍‍जो तेन्जिङ लामा भन्छन्, ‘हामीले मनाङमा स्थलमार्गको ट्र्याक नबन्दा याक, चौंरीमार्फत सामग्री ढुवानी गरेको देख्थ्यौं। तर, यो अहिले पूर्ण रूपमा हराएको छ। अहिले त हामीलाई पनि कथा भनेको जस्तो लाग्छ। तल्लो मनाङबाट माथिल्लो मनाङ याकचौंरीमार्फत नै सामान ढुवानी हुन्थ्यो।’ अहिले सडक र पशुपालनमा कसैको पनि चासो नहुँदा ढुवानी होइन, आम्दानीका स्रोत नै फेरिँदै गएको उनको बुझाइ छ। याक चौंरीबाटै मनाङमा खेतबारी जोत्न र सामग्री ढुवानी गरिन्थ्यो। तर, अहिले यसको प्रयोग घटेको छ।

हिमाली क्षेत्रमा भेडाच्यांग्रा प्रशस्त पाल्ने र यिनैको ऊनबाट बनाइएका कपडा प्रयोगमा हुन्थे। बाह्य कपडा आयात गर्ने प्रचलन थिएन। तर, अहिले यसको प्रयोगमा पनि परिवर्तन आएको छ। याक, चौंरी, भेडाच्यांग्राको ऊनबाट बनाइएको लुगा नै लगाइन्थ्यो। अहिले त कुन देशबाट आउँछ भन्‍ने भन्‍न सक्ने अवस्था नरहेको स्थानीय बासिन्दा बताउँछन्। यहाँका पुराना मानिसले याक, चौंरी र भेडाच्यांग्राको ऊनबाट बनेका भाङ्ग्रालगायत कपडा उत्पादन गर्न कम भएको छ।

पशुपालन घटेसँगै ऊनका सामग्री बनाउन पनि कम भएको लामा बताउँछन्। याक चौंरी कम पाल्न थालिएपछि सामग्री ढुवानी र यात्राको सहजताका लागि यस पालिकालाई सडक सञ्‍‍जालसँग जोड्न थालिएको अध्यक्ष लामा बताउँछन्। पशुपालक किसानलाई आकर्षित र व्यवसायलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न उन्‍नत प्रजातिका याकका ब्याडमा ५० प्रतिशत अनुदान दिएको छ। पशुपालनलाई निरन्तरताका लागि ल्याइएको योजनाले यहाँका पशुपालक कृषकलाई प्रोत्साहन मिल्ने स्थानीय सरकारले अपेक्षा गरेको छ।

मनाङमा हिउँदमा समेत आवश्यक हिउँ नपर्दा याक, चौंरी र भेडाच्यांग्राको चरन क्षेत्रमा जलवायु प्रदूषणको प्रत्यक्ष प्रभाव देखिएको छ। कृषि र पशुपालन व्यवसायका लागि पानी अत्यावश्यक मानिन्छ। तर, यहाँ सुक्खा र खडेरी भएर मरुभूमिको आभास हुन थालेको छ। हिउँ नपर्दा यहाँ पानीको अभावले कृषि र पुशपालनमा असहज भएको कृषकको भनाइ छ। पानीको अभावले चरन क्षेत्र घटेको किसान बताउँछन्। यसले गर्दा पशुपालन र कृषि क्षेत्र प्रभावित भएको उनीहरूको भनाइ छ। हिमपात समयमा भएको भए बिरुवा र पशुपक्षीले खानेपानीको जोहो हुने थियो। तर अहिले खोला, नदीको भर पर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्। पानी नै मुख्य आवश्यकता हो। मौसम प्रतिकूल हुँदा यहाँ पशुपालन घट्ने अवस्था देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले जनाएको छ।

संकटमा पदमार्ग

लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो। पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्थे। स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीयस्थलमा पुग्थे। तर, मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्षअघि नेपाली सेनाले स्थलमार्गको ट्र्याक खोल्यो। नेपाली सेनाले ०६९ सालमा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्र्याक खोलेर यात्रा सहज बनाइयो। सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुशियाली छाएको थियो। यो सडक सञ्‍‍जाल निर्माण भएपछि भने यहाँका बासिन्दा, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ। यसले पदमार्ग नै प्रभावित भएको छ।

केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन्। यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको छ। सडक सञ्‍‍जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो दिएन। यही कारण अहिले पदयात्रीले सकस भोगिरहेका छन्। साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्‍‍जाल पुर्‍याइयो। मनाङ सदरमुकाम चामे पुगेको सडक ०७१ सालमा त्यहाँभन्दा २५ किलोमिटर टाढा सडक सञ्‍‍जालसँग जोडियो। यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकले जोडिएको छ।

लमजुङको बेंसीशहरबाट शुरु हुने अन्‍नपूर्ण पदमार्ग (अन्‍नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै थोराङ्ला भञ्‍‍ज्याङ (पाँच हजार चार सय १६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुंगिन्छ। यस पदमार्गसम्मै सडक पुगेपछि कैयौं पदमार्ग भत्किएका छन्। कैयौं पदमार्गबाटै सडक त कैयौं पदमार्ग नै मेटिएका छन्। पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्‍‍जालका कारण २१ दिनको पदमार्ग अहिले सातदेखि १० दिनमा पूरा गर्न सकिने भएको छ। यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन्।

मनाङमा ०५० सालसम्म खासै होटल थिएनन्। चक्रीय अन्‍नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन। सन् १९९२ मा अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो। सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्यांक लिने र यसको प्रचारप्रसार हुन थालेको हो। त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो। भरियाले बेंसीशहरबाट ५-६ दिन लगाएर भारी बोकेर सामग्री पुर्‍याउने गरिन्थ्यो।

सडक सञ्‍‍जालको अभावमा पर्यटक र स्थानीय कतै-कतै डोरी र भर्‍याङमार्फत हिँड्थे। यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन्। उनका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ। तर, कम मात्रामा प्रयोग गर्ने गरिन्छ। ‘गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्‍‍जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ,’ उनी भन्छन्।

अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्थे। सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए। पर्यटकको तथ्यांक राखिए पनि कुनै पनि निकायले भरियाको तथ्यांक संकलन गरेको छैन। बेंसीशहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेंसीशहर बास बस्न आइपुग्थे। बेंसीशहरबाटै भरियामार्फत सामग्री लैजाने गर्थे।

गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ। धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ। मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ। सडक सञ्‍‍जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात शहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ। पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउँछन्। उनका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेंसीशहर हुँदै पोखरा-काठमाडौंसम्म पुग्छ। यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म पुर्‍याउन भने सहज छैन।

यहाँको रहनसहन, पहिरन, खानपान, पशुपालन, व्यावसायिक फेरिनुले नै जलवायु परिवर्तन भएको बुझ्‍न सकिन्छ। अहिले मनाङमा ऊनको कपडा बाहिरबाट आयात हुने गरेको छ। विगतमा भन्दा यहाँको तापक्रममा पनि परिवर्तन आएको छ। यहाँको वातावरणलाई सन्तुलनमा ल्याउन मनाङवासीले मात्र नभई सरकारले नै कदम चाल्नुपर्ने देखिन्छ। स्थानीय बासिन्दालाई प्रत्यक्ष प्रभाव पारिरहेका विषयलाई गम्भीर अध्ययन गरी बेलैमा ध्यान दिन मनाङवासीले अनुरोध गरेका छन्।

शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.