मने कमरेटले हुङ्कार लगाए
नयाँ नेपाल बन्ने छ
देशले विकासमा कोल्टो फेर्नेछ
नेपाल समृद्धशाली बन्ने छ
शिक्षक,गाउँले, शहरिया
कर्मचारी, मजदुर, व्यापारी
विश्वास गरी
क्रान्तिका लागि ज्यानको बाजी
थापी कमरेटको पछि लागे
शान्ति छायो राजा लखेटी
सत्तामा काबिज भए मने कमरेट
केही दिनमै कमरेटको
व्यवहार फेरियो बोली फेरियो
जीवनशैली फेरियो
लवाई खवाई फेरियो
बस्ने शैली फेरियो
संगत फेरियो
गाउँले शैलीमा शहर छिरेका
कमरेटका टोली
कर्पोरेटका साहुजस्ता भए
देशले विकासमा अगाडि फड्को
हान्ने भनेको त
मने कमरेडले उल्टो जात्रा देखाए
नेपाल पुछारमा पुग्यो
रीतिथिति मिलाउनुभन्दा
कहिले आफ्नैविरुद्ध
विरोध सभा गर्ने
कहिले क्रान्ति फेरि चिहानबाट
निकाल्ने भनी बडबडाउन थाले
कमरेट जनताबाट डराएका छन्
आफ्नै सहकर्मीबाट डराएका छन्
आफ्नै छायाबाट डराएका छन्
यस्ता डरपोक कमरेट
हामीले खोजेको होइन
गफका भरमा सत्ताको घोडा
दौडाउने नेता हामिलाई चाहिएको छैन
हामीलाई क्रान्तिको कुरा गर्ने
चाहिएको छैन
शान्तिको कुरा गर्ने वीरेन्द्र
चाहिएका छन्
विकासको कुरा गर्ने महेन्द्र
चाहिएका छन्
देश एकजुट गर्ने पृथ्वीनारायण
चाहिएका छन्
नेपाललाई माया गर्ने विश्वेश्वर
चाहिएका छन्
नेपालको चिन्ता गर्ने कृष्णप्रसाद
चाहिएका छन्
सादगीको रूप मनमोहन
चाहिएका छन्