सुनसरी- दशैंको मुखमा ठूलो परिमाणममा लागूपदार्थ गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई कृष्णभिरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर जाने सडकअन्र्तगत कृष्णभिरबाट शुक्रबार सशस्त्र प्रहरी वाहिनी पकलीको टोलीले बिहान ७ः३० बजे करिब १२० किलो गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा भारत घर बताउने ३६ वर्षीय मोहम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, तथा प्रदेश १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलमा सवार सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–५ का ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह पक्राउ परेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए।
बराहक्षेत्र नगरपालिकाभित्र पर्ने ठाउँ तथा सप्तकोशी नदीबाट विभिन्न समयमा ठूलो परिमाणमा लागूपदार्थ ओसारपसारमा गरिरहेको अवस्थामा सुरक्षा निकायले नियन्त्रण लिइरहेको छ। उक्त क्षेत्र लागूपदार्थ तथा दुई नम्बरी धन्दा (तस्करी) गर्नेहरूको टान्जिट पोइन्ट भइरहेकोस्थानीय बासिन्दाले बताए। यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय चनाखो हुनुपर्ने उनीहरूको भनाइ छ।
यसअघि १८ जेठ ०७९ मा पनि सशस्त्र प्रहरी बेस क्याम्प चतराको टोलीले ११ वटा बोरामा ३५० किलो गाँजा बरामद गरेको थियो।