कलैया– मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन्।
मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए।
मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उनले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताए।
“मधेसलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध छ”, मन्त्री यादवले भने “खेलाडी देशको गहना भएकाले उनीहरुको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन।”
नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको बताए। “काठमाडाैंबाहेक अन्य ठाँउमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छैनन्”, उनले भने। वीरगञ्ज, पोखरा, भैरहवा, विराटनगर, चितवन, हेटौँडा, जनकपुरलगायत ठाउँमा सरकारले अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुपर्ने अध्यक्ष चन्दले बताए।