काठमाडौं- कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित १३ जना पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा प्यानलले बहुमत जुटाएको छ ।
सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्कासहित देउवा प्यानलका आठ पदाधिकारी निर्वाचित भएका छन् । यस्तै, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासहित कोइराला प्यानलबाट चारजना कांग्रेस पदाधिकारी बनेका छन् ।
सभापतिको पहिलो चरणको मतदानबाट बाहिरिएका प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
यस्तै, आठ सह-महामन्त्रीमध्ये देउवा प्यानलबाट आठ र कोइराला प्यानलबाट दुई जना निर्वाचित भएका छन् । महिलातर्फ महालक्ष्मी उपाध्याय, आदिवासी–जनजातितर्फ भीष्मराज आङ्देम्बे, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, खस आर्यतर्फ किशोरसिंह राठौर, मधेशीतर्फ महेन्द्र यादव र थारूतर्फ उमाकान्त चौधरी देउवा प्यानलबाट सह-महामन्त्री बनेका छन् ।
कोइराला प्यानलबाट दलिततर्फ र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सह-महामन्त्री निर्वाचित भएका छन् ।
कांग्रेसमा एक कोषाध्यक्ष पनि पदाधिकारी हुने व्यवस्था छ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरू मध्येबाट एकजनालाई मनोनित गर्ने व्यवस्था छ ।