काठमाडौं- संकास्पद मृत्यु भएका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको शव पोष्टमार्टमाका लागि अस्पताल ल्याउँदा अनुहारमा मुक्काले हानेको चोट रहेको अस्पतालका एक कर्मचारीले बताएका छन् ।
सुशान्तको निधन भएको साढे दुई वर्षपछि उनको शव पोष्टमार्टम गर्न लगिएको अस्पतालका कर्मचारीले यस्तो बताएका हुन् । अस्पतालका कर्मचारी रुपकुमार शाहले सुशान्तको शव ल्याउँदा आँखामा कसैले मुक्काले हानेकोजस्तो चोट रहेको बताए ।
शाह सुशान्तको पोष्टमार्टम गर्ने टिमका सदस्य थिए । उनले पोष्टमार्टम गर्दा सँगै बसेर सबै दृष्य हेरेका थिए । उनले सुशान्तको शरीरमा धेरै चोटपटक रहेको र कतिपय हड्डि भाँचिएको पनि बताएका छन् ।
त्यसबेला तत्कालिन सरकारसँग (प्रदेश सरकार) आफूलाई भरोसा नभएकाले मिडियासमक्ष सत्य बोल्न नसकेको उल्लेख गर्दै उनले सरकार फेरिएपछि साँचो कुरा भन्न आएको बताए । शाहको यो भनाई बाहिरिएपछि सुशान्तको निधन घटनाले नयाँ मोड लिएको छ ।
शाहले सुशान्तको आत्महत्या नभई हत्या भएको दावी गर्दै उनले न्याय पाउन भनेर आफूले सत्य कुरा बताएको दावी गरेका छन् । त्यसबेला आफूलाई शवको भिडियो बनाउनु पर्नेमा फोटो मात्र लिने आदेश भएको उनले खुलाए ।
‘मैले शव हेर्ने वित्तिकै मेरा सिनियरलाई यो सुसाइड नभएर हत्या हो भनेको थिएँ,’ उनले भनेका छन्, ‘तर मलाई फोटो खिच्नु र छिटै प्रहरीलाई शव बुझाउनु भने । त्यसैले हामीले राति नै पोष्टमार्टम गर्यौं ।’
सुशान्तको शव १४ जुन २०२० मा मुम्बईको ब्रान्दास्थित आफ्नै घरमा रहस्यम तरिकाले मृत अवस्थामा भेटिएको थियो । घटनास्थल हेर्दा प्रथम नजरमा उनको मृत्यु आत्महत्याबाट भएको जस्तो देखिन्थ्यो । तर, अचानक अहिले पोष्टमार्टम टिमका एक सदस्यले दिएको बयानले यो घटनालाई नयाँ ढंगले अनुसन्धान गर्नुपर्ने बनाएको छ ।