काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नु पर्ने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहज रुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरे ।
अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै सांसद थापाले व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनु पर्ने बताए । उनले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताए ।
उनले हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नु पर्ने स्पष्ट पारे । आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनु पर्ने सांसद थापाको भनाइ छ । हरेक कुरालाई प्रमाणित गर्ने तरिकाले सरकार अगाडि बढ्नु पर्ने स्पष्ट पारे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सांसद थापाको भनाइ छ ।
सांसद थापाले काठमाडौँ उपत्यकाको फुटपाथ विस्तार, निर्माण, पुनः स्थापनालगायत विषयलाई सरकारले संकेत गरेकामा धन्यवाद दिए ।