नोम पेन्ह- म्यान्माका सैन्य समर्थित सरकारका नेता मिन आङ ह्लाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र पार्नुभएको छ । उहाँले शुक्रबार कम्बोडियाको दुईदिने भ्रमण सुरु गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले सिनेट अध्यक्ष हुन सेनसहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि म्यान्मा आसियानमा कूटनीतिक रूपमा अलग भएको थियो । हिंसा अन्त्य, संवाद र मानवीय सहायता अघि बढाउने आसियानको पाँचबुँदे शान्ति योजनामा अपेक्षित प्रगति नभएपछि मिन आङ ह्लाइङलाई आसियानका उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको थियो ।
गत अप्रिलमा राष्ट्रपतिको शपथ लिएपछि उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार तथा आसियानसँग सामान्य सम्बन्ध पुनःस्थापित गर्ने प्रयास अघि बढाउनुभएको छ । भारत, चीन, लाओस, थाइल्यान्ड, कजाकिस्तान, बेलारुस, रूस र भियतनामको भ्रमण गरिसक्नुभएका उहाँले व्यापार तथा लगानीमार्फत विदेशी पुँजी आकर्षित गर्ने प्रयाससमेत गर्नुभएको छ ।
म्यान्मा सङ्कट समाधानमा कम्बोडियाले यसअघि पनि भूमिका खेलेको थियो । सन् २०२२ मा तत्कालीन प्रधानमन्त्री हुन सेनले आसियानको अध्यक्षका रूपमा नेपितको भ्रमण गरी मिन आङ ह्लाइङसँग भेटवार्ता गर्नुभएको थियो ।
तर उहाँको कम्बोडिया भ्रमणको आलोचना भएको छ । खमेर मुभमेन्ट फर डेमोक्रेसीले भ्रमणमार्फत मिन आङ ह्लाइङलाई कूटनीतिक वैधता दिन नहुने बताएको छ । मानव अधिकार संस्था फोर्टिफाई राइट्सले पनि भ्रमण रद्द गर्न आग्रह गर्दै उहाँलाई पक्राउ गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउनसमेत माग गरेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले रोहिङ्ग्या मुस्लिमविरुद्ध पश्चिमी म्यान्मामा भएको भनिएको मानवताविरुद्धको अपराधका सम्बन्धमा सन् २०२४ मा मिन आङ ह्लाइङविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए ।