काठमाडौं- आज २३ जुलाई। विश्व इतिहासका असंख्य घटनाले संसारभर आजको दिनलाई सम्झाउँछन्। प्रस्तुत छ, विश्व इतिहासमा आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९५- पुच्छ्रेतार ‘हेल-बप’को पहिचान
सन् १९९५ मा आजकै दिन ‘हेल-बप’ नामक पुच्छ्रेताराको पहिचान गरिएको थियो। वैज्ञानिक समुदायमा त्यसलाई ‘सी-१९९५ ओ १’को नामबाट पनि चिनिन्छ। यो प्रसिद्ध पुच्छ्रेताराको खोजी एलन हेल र थोमस बोपले गरेका थिए।
– सन् १९८२- व्यापारिक प्रयोजनमा ह्वेलको शिकार गर्न प्रतिबन्ध
सन् १९८२ मा आजकै दिन व्यापारिक प्रयोजनमा ह्वेलको शिकार गर्न प्रतिबन्ध लगाइएको थियो। इन्टरनेसनल ह्वेलिङ कमिसनले उक्त प्रतिबन्ध घोषणा गरेको थियो। २५ वटा मुलुकले त्यसमा हस्ताक्षर गरेका थिए।
– सन् १९६२- पहिलो लाइभ ट्रान्सएटलान्टिक टेलिभिजन सिग्नल
सन् १९६२ मा आजकै दिन पहिलोपटक ट्रान्सएटलान्टिक लाइभ टेलिभिजन सिग्नल प्रसारित भएको थियो। सञ्चार उपग्रह ‘टेलस्टार-१’ उक्त सिग्नल प्रसारित गरेको थियो।
– सन् २०२१- महाराष्ट्रको बाढीमा गयो १६४ को ज्यान
सन् २०२१ मा आजकै दिन भारत महाराष्ट्र राज्यमा आएको विनाशकारी बाढीले १६४ जनाको ज्यान लिएको थियो। मुलधारे वर्षापछि आएको बाढी र पहिरोले विनाश निम्त्याएको थियो।
– सन् २०१९- भारतका १३२ गाउँमा छोरीको जन्मदर शून्य भएपछि अनुसन्धान
सन् २०१९ मा आजकै दिन भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा छोरीको जन्मदर शून्य भएको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको थियो। उक्त जिल्लाका १३२ गाउँहरूमा ३ महिनादेखि छोरीको जन्मदर शून्य पाइएको थियो। भ्रुणको लिंग पहिचान गरेर छोरीको जन्मदर शून्य बनाइएको सरकारको आशंका थियो।
– सन् २०२४- चीनमा अवकाश उमेर ६० वर्ष
सन् २०२४ मा आजकै दिन चीनले महिला र पुरुष दुवैका लागि अवकाशमा जाने उमेर घोषणा गरेको थियो। चीन सरकारले पुरुषका लागि ६० र महिलाका लागि ५० देखि ५५ वर्षमा अवकाश लिन सक्ने व्यवस्था गरेको थियो।
– सन् २०१५- फेला पर्यो पृथ्वीजस्तै ग्रह
सन् २०१५ मा खगोलविदहरूले हाम्रो सौर्य मण्डल बाहिर पृथ्वीजस्तै ग्रह फेला परेको घोषणा गरेका थिए। ‘केप्लर-४५२बी’ नाम दिइएको उक्त ग्रह पृथ्वीबाट १ हजार ४०० प्रकाश वर्ष टाढा अवस्थित छ। उक्त ग्रहमा जीवन हुन सक्ने शंकामा खगोलविदहरूले खोजी गरिरहेका छन्।