काठमाडौं- आज १३ फेब्रुअरी। विश्व इतिहासका विभिन्न घटनाले आजको दिनको स्मरण ताजा राखेका छन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९४५- बम आक्रमणमा जर्मनीमा २५ हजारको हत्या
सन् १९४५ मा आजकै दिन जर्मनीको ड्रेस्डेन शहरमा गरिएको बम आक्रमणमा पूरै शहर ध्वस्त भएको थियो। तीन दिन चलेको छापामारीमा २५ हजारजनाको ज्यान गएको अनुमान छ।
– सन् १९९१- इराकमा स्मार्ट बमबाट ४०८ को हत्या
इराकको राजधानी बगदादमा आजकै दिन विष्फोट गराइएका २ वटा स्मार्ट बममा परी ४०८ निहत्था नागरिकको ज्यान गएको थियो। अमेरिकाले इराकविरुद्ध चलाएको ‘अपरेसन डेजर्ट स्टर्म’का क्रममा भएको यो सबैभन्दा खराब आक्रमण थियो।
– सन् २००१- एल साल्भाडोर भूकम्पमा ९४४ को मृत्यु
मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा आजकै दिन गएको भूकम्पमा परी ९४४ जनाको ज्यान गएको थियो। ६.६ रेक्टर स्केलको भूकम्पमा परी १ लाख ८ हजार घर ध्वस्त भएका थिए भने ५५ सय जनाभन्दा बढी घाइते भएका थिए।
– सन् २००४- ब्रह्माण्डको सबैभन्दा ठूलो हीरा
पृथ्वीबाट ५० प्रकाश वर्ष टाढा आजकै दिन ब्रह्माण्डकै ठूलो हीरा फेला परेको घोषणा वैज्ञानिकहरूले गरेका थिए। ‘बीपीएम ३७०९३’ नाम दिइएको एक तारालाई वैज्ञानिकहरूले हीरासहितको तारा संज्ञा दिएका थिए। शुरुमा यसको नाम ‘लुसी इन द स्काई विथ डायमन्ड्स’ राखिएको थियो। र, पछि त्यसको उपनाम ‘लुसी’ राखियो। उक्त तारामा हीरा नै हीरा फेला परेको वैज्ञानिकहरूको भनाइ छ।
– सन् २००८- अस्ट्रेलियाका प्रधानमन्त्रीले आदिवासीसँग मागे माफी
अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री केभिन रुढले आजकै दिन आफ्नो देशका आदिवासी समुदायसँग माफी मागेका थिए। सन् १९६० को दशकमा अस्ट्रेलिया सरकारले १० देखि ३० प्रतिशत आदिवासी र टोरेस टापुका बासिन्दाका बालबालिकालाई उनीहरूको परिवारबाट अलग गराइदिएको थियो। सोही घटनाका लागि प्रधानमन्त्री रुढले माफी मागेका हुन्।
– सन् २०२०- ठक्कर खाएर होइन, जेन्टल ढंगले बन्छन् तारा
वैज्ञानिकहरूले ताराहरू निर्माण हुनेबारे विद्यमान सोच परिवर्तन गरेका छन्। उनीहरूको भनाइमा जोडदार टक्करबाट नभई जेन्टल एकत्रीकरणबाट तारा बन्ने गरेको पाइएको छ। धर्तिबाट हालसम्मको सबैभन्दा टाढाको आकाशीय पिण्ड अरोकोथमाथि अध्ययनका क्रममा वैज्ञानिकहरूले उक्त निष्कर्ष निकालेका हुन्। उक्त आकाशीय पिण्ड कुइपर बेल्ट नाम दिइएको अन्तरिक्षको भागमा अवस्थित छ।
– सन् २०२१- विश्वकै पुरानो बियर फ्याक्ट्री
सन् २०२१ मा आजकै दिन पुरातत्त्वविदहरूले विश्वकै पुरानो बियर फ्याक्ट्री फेला परेको बताएका थिए। इजिप्टको एबिडोसमा फेला परेको उक्त बियर फ्याक्ट्री प्रारम्भिक राजवंश काल ३१५० ईसा पूर्वदेखि २६१३ ईसा पूर्वको हुन सक्ने अनुमान छ।
– सन् २०२५- रोनाल्डो संसारकै ‘हाइएस्ट पेड’ खेलाडी
क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा संसारकै सबैभन्दा ज्यादा कमाउने खेलाडी बनेका थिए। त्यस वर्ष उनको कमाइ २६ करोड अमेरिकी डलर भएको थियो। उनीपछि स्टिफन करी र टाइसन फ्युरी सर्वाधिक कमाउने खेलाडी बनेका थिए।