काठमाडौं- २१ साउन राति करिब अढाइ बजे। पशुपतिनाथ मन्दिरनजिक भण्डारखालमा धर्नामा रहेका ३५ जना लघुवित्त पीडितहरू त्रिपालमुनि मस्त निन्द्रामा थिए। त्यही समय एक्कासी ‘चोर-चोर’ आवाज आयो। सबैको निन्द्रा खल्बलियो। सबैजना चनाखो हुँदै आवाज भएतिर लागे। सुनसान रातमा भण्डारखाल क्षेत्रमा खैलाबैला मच्चियो।
केही चोरको पछि लागे। चोर होचो पर्खाल पार गर्दै जंगलतिर दौडियो। जंगलमा चोरले जे पनि गर्न सक्ने आशंकामा उसको पछि लागेकाहरू छाप्रोतिरै फर्किए। तन्द्रामै रहेका सबैले आ-आफ्नो मोबाइल फोन छामछुम गर्न थाले। तर, छाप्रोमा बस्दै आएकी शान्ति बोहरा र ऋषि नेपालीले सुत्नुअघि सिरानीमुनि राखेको मोबाइल फेला परेन। चोरले दुवैको मोबाइल चोरेको निश्चित भयो।
घटनापछि कसैलाई निन्द्रा लाग्ने कुरै थिएन। साथमा मोबाइल भएकाहरूले आफ्नो सेट पनि चोरिने डरले बसेरै बाँकी रात कटाए। जब झिसमिस उज्यालोमा बाहिरी चलहपहल बढ्न थाल्यो, हाई काढ्दै आधी रात बसेरै कटाएका केही निदाए।
धर्ना क्षेत्रमा मोबाइल चोरीको यो पहिलो घटना थिएन। धर्नामै रहेकी कमला मगरको मोबाइल पनि तीन महिनाअघि मध्यरातमै चोरी भएको थियो। यस्तै, १६ साउन राति अढाइ बजे अञ्जु दनुवार, रूपा राई र जीवन घिमिरेको मोबाइल पनि चोरिएको थियो। डेढ महिनाअघि दत्त थारू र अब्दुल साहको मोबाइल पनि मध्यरातमै चोरले उडाएको थियो।
हालसम्म ८ वटा मोबाइल धर्ना स्थलबाट चोरी भइसकेका छन्। १६ साउनमा एकै रातमा तीनवटा सेट चोरी भएपछि धर्नामा रहेकाहरूले पालैपालो पहरा दिन थालेका थिए। ३-४ दिन पहरा दिँदा चोर आएन। त्यसपछि चोर आउँदैन भनेर पहरा दिन छाडियो। त्यसको भोलिपल्टै चोरले फेरि मौकामा चौका हान्यो। र, दुईवटा मोबाइल चोर्यो।
१६ साउनमा तीनवटा मोबाइल चोरी भएको भोलिपल्ट चोरको सर्ट र चप्पल त्यही क्षेत्रमा फेला पर्यो। चप्पल र सर्टसहित पीडितहरूले गौशालास्थित प्रहरी वृत्तमा उजुरी दिए। प्रहरीले उनीहरूको सम्पर्क नम्बर लिएर मोबाइल भेटिए फोन गर्ने बताउँदै फर्काए। तर, अझै चोरिएका कुनै सेट प्रहरीले भेटेको छैन।
०००
धर्ना क्षेत्रमा दिनहुँ चोरीका घटना हुन थालेपछि त्रसित बनाएको लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान बताउँछन्। लघुवित्त संस्थाको ज्यादतीका कारण १७८ दिनदेखि धर्नामा रहेका उनी लामो समयदेखि बिरानो ठाउँमा बस्दा बिहान खाए साँझको छाक कसरी टार्ने भन्ने पीर हुने बताउँछन्। त्यसमाथि आफूहरूको समस्या सम्बोधन गर्नेगरी सरकार निष्कर्षमा नपुग्दा दिन-दिनै थप चुनौतीहरूको सामना गर्नुपरेको उनको भनाइ छ।
बर्खाको समयमा चुहिने त्रिपालमुनि रात-दिन कटाउनु परेको छ। एउटा त्रिपाल बढीमा डेढ महिना टिक्छ। समय-समयमा त्रिपाल फेर्न रकम अभाव अभाव भएकाले जेनतेन चुहिने त्रिपालमुनि ओभानो ठाउँतिर बसेरै रात कटाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
त्यसमाथि चोरको बिगबिगीबाट उनीहरू थप प्रताडित बनेका छन्। चोरको दशी-प्रमाणसहित उजुरी दिँदा पनि प्रहरीले बेवास्ता गरेको उनीहरूको आरोप छ।
‘धर्नाक्षेत्रमा धेरैजसो महिला दिदी-बहिनीहरू छन्। चोरीको बहानामा आउने व्यक्तिले कुन दिन उनीहरूको इज्जतसँग खेलबाड गर्छ भन्ने ठेगान छैन,’ देवान भन्छन्, ‘निदाएको मौका छोपी हाम्रा छाप्रोमा पसी चोरी गर्न हतियार प्रयोग गर्दैन भन्ने के ग्यारेन्टी?’
अब रातमा सुत्न पनि डराउनुपर्ने अवस्थामा उनीहरू छन्। ज्यानको बाजी थापेर धर्नामा रहेका आफूलाई सरकारले कहिले न्याय दिन्छ भन्ने अनिश्चित रहेको उनी बताउँछन्।
केन्द्र सरकारलाई झकझक्याउन २९ माघ ०८० मा चितवनमा जम्मा भएका करिब ५ सय लघुवित्त पीडितहरूले १ फागुन ०८० मा चितवनकै मुग्लिनबाट पैदल यात्रा थालेर ७ फागुनमा काठमाडौं आएका थिए। त्यसयता उनीहरू निरन्तर धर्नामा छन्।
सरकारले थुप्रैपटक समस्या सम्बोधन गर्ने आश्वासन दिँदै उनीहरूलाई घर फर्काउने प्रयास गरिरहेको छ। तर, आफूहरूको माग सम्बोधनमा कुनै चासो नदिइएको उनीहरू बताउँछन्।
हालसम्म धर्नामा रहेका लघुवित्त पीडितले के खान्छन्, कसरी ओत लागेका छन् भनेर सरकारी निकाय र अधिकारीहरूले सोधखोजसम्म गरेका छैनन्। देवान भन्छन्, ‘यदि कोही ठूला दलका नेता धर्नामा बसेका हुन्थे त दिनरात उनीहरूको चियोचर्चो गर्ने मान्छे प्रशस्तै हुन्थे होला।’
धर्नामा रहेका सर्वसाधारणको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने हो। तर, पटक-पटक मोबाइल चोरी भई रिपोर्ट लेखाउँदा पनि कहीं-कतैबाट पहल नहुनुले भविष्यमा कुनै ठूलो घटना हुने त्रासमा उनीहरू देखिन्छन्। ज्यानकै बाजी थापेर बस्नु आफूहरूलाई रहर नभएको तर न्याय नपाई घर फर्किंदा पनि दिनरात लघु वित्तका कर्मचारीको टर्चर सहनुपर्ने भएकाले धर्नालाई निरन्तरता दिनुको विकल्प नरहेको उनीहरू बताउँछन्। र, न्याय पाएर मात्र घर फर्किने अठोटमा छन्, उनीहरू।