काठमाडौं- काठमाडौं महानगरपालिकाले ऐतिहासिक स्थल खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेसँगै चौतर्फी विरोध भइरहेको छ। नागरिक समाज, पूर्व जनप्रतिनिधि, विज्ञहरूले आलोचना गरिरहेका छन्।
महानगरपालिका भने आफ्नो निर्णयमा टसमस भएको छैन। मेयर बालेन साहले फुटबल मैदान बनाउने योजना अगाडि बढाउने तयारी गरिरहेको जनप्रतिनिधिहरू बताउँछन्। दुईवटा फुटबल मैदानसहित पार्क बनाउने मेयर साहको योजना छ।
यसका लागि उनले केही महिनाअघि नै तयारी थालेका थिए। महानगरको कार्यपालिका बैठकमा यस विषयमा सहमति जुटाएका छन्। फुटबल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले सञ्चार माध्यमहरूलाई बताएका थिए। डिजाइन र लागत इस्टिमेट तयार भइसकेको र अब उपभोक्ता समिति बनाएर काम अघि बढाइने प्रवक्ता मानन्धरको भनाइ थियो।
महानगरको उक्त योजनाको चौतर्फी विरोध शुरु भएपछि प्रवक्ता मानन्धर यस विषयमा मौन छन्। अहिले मेयर साहसँगै जनप्रतिनिधिको आलोचना भइरहेको छ। खुलामञ्चलाई खुला नै राख्नुपर्ने दबाब दिन थालिएको छ।
अहिले भने खुलामञ्चमा सरसफाइ चलिरहेको छ। ढुंगा पन्छाउने र सम्याउने काम भइरहेको छ। त्यसमा दुबो लगाइने जनाइएको छ। महानगरले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन।
महानगरका प्रवक्ता मानन्धर र सूचना अधिकारी वसन्त आचार्यले यस विषयमा बोल्न मानेनन्। मेयर साह त कुनै पनि विषयमा सञ्चार माध्यमसँग बोल्ने गरेका नै छैनन्। खुलामञ्चका विषयमा पनि महानगरले कुनै जानकारी सार्वजनिक गरेको छैन। तर, खुलामञ्चलाई खुला नै राख्नुपर्ने, यसमा कुनै संरचना निर्माण गर्नु नहुने विज्ञ, नागरिक अगुवा र पूर्व जनप्रतिनिधि बताउँछन्। यसलाई खुला नै राख्नुपर्ने भन्दै नागरिक स्तरबाट अकुपाई टुँडिखेल अभियान चलिरहेको छ।
खुलामञ्चलाई पहिलाकै अवस्थामा फर्काउन २३ साउन ०७६ देखि विशाल मानव साङ्लो निर्माण गरी तीन महिने ‘अकुपाई टुँडिखेल अभियान’ शुरु भएको थियो। प्रत्येक शनिबार विभिन्न चेतनामूलक कार्यक्रम गर्दै उक्त अभियान चलाइएको थियो। यो अभियानले खुलामञ्चलाई खुला नै राख्न दबाब दिँदै आएको छ।
खुलामञ्चमा फुटबल मैदान बनाउन नहुने अकुपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारी बताउँछन्। भन्छन्, ‘खुलामञ्चको आफ्नो ऐतिहासिकता छ। प्राकृतिक र सांस्कृतिक महत्त्व छ। दैवी प्रकोप आउँदा पनि महत्त्वपूर्ण ठाउँ हो। खुलामञ्च जस्तो थियो, त्यस्तै नै राख्नुपर्छ। यसको भूउपयोगिता परिवर्तन गर्नु हुँदैन।’
यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने तयारी गरेको थियो। त्यसको पनि विरोध भएको थियो। सबै क्षेत्रबाट विरोध भएपछि त्यो योजना रोकिएको थियो।
फेरि अहिले मेयर साहले फुटबल मैदान बनाउने योजना अघि सारेका छन्। यस विषयमा भने अकुपाई टुँडिखेल अभियानले जानकारी माग्दा पनि महानगरले नदिएको प्रवक्ता अधिकारी बताउँछन्। ‘महानगरले अहिलेसम्म उत्तरदायी भएर काम गरेको छैन। यस विषयमा जानकारी दिन न विज्ञप्ति निकाल्छ, न त कुनै जानकारी गराउँछ। अब हामी सूचनाको हक प्रयोग गरेर सूचनाहरू माग्ने क्रममा छौं,’ अधिकारी भन्छन्।
महानगरले यस विषयमा कुनै पनि जानकारी सार्वजनिक नगर्दा झन् शंका पैदा भएको अधिकारीको भनाइ छ। ‘अहिले हेर्दा फुटबल मैदान बनाउँदैमा के हुन्छ र भन्ने छ। तर, विस्तारै-विस्तारै लैनचौरजस्तै हुन्छ। सर्वसाधारणले जान नपाउने बनाइनेछ,’ अधिकारी भन्छन्, ‘सरकारीकरण हुँदा त हामी डराइराखेका छौं। विस्तारै निजीकरण हुने डरले बिरोध गरेका हौं।’
काठमाडौं महानगरकी पूर्व उपमेयर हरिप्रभा खड्की पनि खुलामञ्चमा कुनै भौतिक संरचना बनाउन नहुने बताउँछिन्। ०७६ सालमा खुलामञ्चको अतिक्रमण जोगाउन शुरु भएको अकुपाई टुँडिखेल अभियानलाई पनि उनले समर्थन गरेकी थिइन्।
पूर्व उपमेयर खड्गी खुलामञ्च देशभरका नागरिकको नासो भएको बताउँछिन्। ‘खुलामञ्च भनेको सबै तीन करोड जनताको नासो हो। खुला रूपमा सबैले फुटबल खेल्न, व्यायाम गर्न, घाम ताप्न, बदाम खाएर साथीभाइसँग गफगाफ गर्न पाइने ठाउँ हो,’ उनी भन्छिन्, ‘यो ऐतिहासिक खुलामञ्च हो। यसलाई खुला नै राख्नुपर्छ।’
पञ्चाय विरोधी आन्दोलनदेखि ०६२-६३ को आन्दोलनका बेला खुलामञ्चमै जनता उर्लिएको उनी स्मरण गराउँछिन्। यो हरेक ऐतिहासिक परिवर्तनको साक्षी भएको उनको भनाइ छ। ‘हरेकपटक राष्ट्रले परिवर्तन खोजेको बेलामा त्यहीं बसेर नेताहरूले परिवर्तन ल्याएका छन्। बीपी कोइरालादेखि लिएर गणेशमान सिंहले त्यहींबाट परिवर्तन ल्याएको हो,’ भन्छिन्, ‘प्रजातन्त्र होस् या ०६२-६३ को आन्दोलन, सबै त्यहींबाट भएको हो। त्यसैले यो ऐतिहासिक खुलामञ्च भएकोले त्यसलाई खुलै छाड्नुपर्छ। सबैको हक छ यसमा।’
उनी प्राकृतिक विपतका बेला पनि खुला ठाउँ चाहिने र त्यसका लागि खुलामञ्च प्रयोग हुँदै आएको बताउँछिन्। ‘०७२ सालको भूकम्पको बेला कहाँ बसौं भन्ने समयमा थुप्रै मानिस यही खुलामञ्चमा आएर पाल राखेर आफ्नो परिवारसहित बसेका थिए। विसं १९९० को भूकम्प होस् या ०७२ सालको, त्यो बेलामा खुलामञ्चले धेरै साथ दिएको थियो। बस्ने आश्रय भएको थियो,’ खड्गी भन्छिन्।
खुलामञ्चलाई खुलै राखेर हरियाली बनाउन मेयर साहलाई उनी सुझाउँछिन्। ‘घना बस्ति भइसकेको काठमाडौंमा खुलामञ्च खुलै हुनुपर्छ। क्लब वा कसैलाई जिम्मा दिन हुँदैन,’ उनी भन्छिन्, ‘अहिलेको मेयरज्युलाई के भन्न चाहन्छु भने खुला मञ्चलाई खुलै रहन दिनूस्। हरियाली बनाउनूस्। पार्क बनाउनूस्। रुखहरू अझ रोप्नुस्। किनभने प्रदूषणमुक्त शहर बनाउनुपर्छ।’
खुलामञ्च रहेको काठमाडौं-२८ का वडाध्यक्ष भाइराम खड्गी पनि खुलामञ्चलाई खुलै राख्नुपर्ने बताउँछन्। अहिले सरसफाइको काम चलिरहेको र यसमा फुटबल मैदान बनाउन नदिइने उनको भनाइ छ। ‘अहिले खुलामञ्चमा भएको ढुंगामाटो, फोहोर सफा गरिरहेका छौं। महानगरले एक करोड बजेट विनियोजन गरेको छ। यो बजेटले हरियाली गरेर, दुबो राखेर राम्रो बनाउन खोजेको हो,’ उनी भन्छन्।
सबैलाई हुनेगरी खुलामञ्च खुला नै बनाइने उनको भनाइ छ। ‘जावलाखेल र लैनचौरको जस्तो कब्जा गर्न खोज्छ भन्ने आइरहेको छ। त्यस्तो गर्नै दिँदैनौं,’ वडाध्यक्ष खड्गी भन्छन्।