ललितपुर । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका ४ नल्लुमा आज बिहान एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ‘कार्बन पोइजनिङ’ भएकाले उनीहरूको मृत्यु भएको आशंका गरिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार घटना स्थल पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’ हुँदा घटना भएको जानकारी दिएका हुन् । चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ ।
उनीहरूको मृत्युको आधिकारिक कारण पोष्टमार्टम रिपोर्टपछि मात्रे खुल्ने प्रहरीले जनाएको छ । घटनापछि पुगेको प्रहरीले परिवारका चार जनाको शव निकालेको थियो भने दुई जनालाई उपचारका लागि पठाएको थियो । जसमा दुई दिनकी शिशुको उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाको उपचार भइरहेको छ ।
घटनामा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा र ७ वर्षीय आस्माको मृत अवस्थामा भेटिएका थिए । उपचारका क्रममा दुई दिनको अर्का एक नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।