काठमाडौं- तामझाम साथ सरकारले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको अढाइ वर्ष बितिसक्यो। पोखरामा त एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान भएको छैन, भैरहवामा सातामा ३०-४० जना यात्री ल्याउने एउटा उडान सञ्चालनमा छ।
पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि भन्दै १३५ सरकारी कर्मचारी तैनाथ छन्। भैरहवामा अन्तर्राष्ट्रिय स्तरको सेवा दिने भन्दै सरकारले ३४४ कर्मचारी खटाएको छ। दुवै विमानस्थलमा गरी ४७९ जना कर्मचारी घाम तापेर बस्नुको विकल्प छैन।
०००
१७ फागुन ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा नवनिर्मित ‘क्षेत्रीय अन्तर्राष्ट्रिय’ विमानस्थल उद्घाटन गरे। तर, त्यसयता अन्तर्राष्ट्रिय एयरलाइन्सका एउटा पनि नियमित उडान पोखरा विमानस्थलबाट भएका छैनन्। चीनबाट भएका केही चार्टर उडानमै सीमित छ, यो विमानस्थल।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको गन्ध पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले त्यसको ठोस नतिजा आउन समय लाग्नेछ। यो विमानस्थलले चीनबाट लिइएको ऋण र राज्यको लगानी उठाउने कुनै लक्षण देखाएको छैन। यो विमानस्थलको निर्माणमा कम्तिमा २२ अर्ब रुपैयाँ खर्च भएको छ।
यो विमानस्थल बन्नु अघिसम्म पोखरा बजार छेउकै आन्तरिक विमानस्थलले सेवा दिइरहेकै थियो। अति महत्त्वाकांक्षी राजनीतिक नेतृत्वको दबाबमा निर्माण गरिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पुरानै एयरपोर्टको सेवा मात्र दिइरहेको छ। त्यसैले यो विमानस्थल निर्माणको औचित्यमाथि नै प्रश्नचिह्न खडा भएको छ।
नवनिर्मित विमानस्थलमा चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ ऋण छ। काठमाडौंको त्रिभुवन र भैरहवाको गौतमबुद्धपछि देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो, पोखरा। नवनिर्मित पोखरा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका १२औं तहका कर्मचारी हाकिम छन्। र, उनी मातहत ७५ जना कर्मचारी कार्यरत छन्।
विमानस्थलका प्रवक्ता जशोदा रेग्मीका अनुसार नयाँ विमानस्थल भएकाले थप दरबन्दी स्वीकृत भएको छैन। काजमा आएका कर्मचारीले कामकाज गरिरहेका छन्।
अन्तर्राष्ट्रिय उडान नचलेका कारण यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छैन। यो विमानस्थलमा नेपाल प्रहरीका एसएसपीलाई सुरक्षा नेतृत्वको जिम्मा दिने गरी दरबन्दी कायम गरिएको छ। तर, अन्तर्राष्ट्रिय उडान शून्य रहेकाले प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा ५० जनाको टोली खटिँदै आएको छ।
यस्तै, यात्रुको सहजताका लागि अध्यागमन कार्यालय स्थापना भएको छ, जसमा १० जना कर्मचारीले सेवा दिइरहेका छन्। यात्रुको सहजताका लागि बैंकको पनि व्यवस्था छ। अहिले नेपाल बैंकको शाखा मात्रै सञ्चालनमा छ। अन्य निजी क्षेत्रका बैंकहरूले शाखा खोल्न इच्छा देखाएका छैनन्।
अन्तर्राष्ट्रिय उडान नभए पनि आन्तरिक उडानको चाप छ, पोखरामा। र, यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यात्रुको चाप रहने विमानस्थल हो। यहाँबाट नेपाल वायु सेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरले नियमित उडान गरिरहेका छन्। ती सबै आन्तरिक उडान हुन्।
दशैं-तिहारको बीचमा बुद्ध एयरले दैनिक २० वटा उडान गरेको थियो। अहिले दैनिक १५ वटामा सीमित छ। यस्तै, यती एयरलाइन्सले ६ र श्री एयरलाइन्सले ३ उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रिय उडानतर्फ भने अहिलेसम्म चार्टर्ड उडान मात्र भएका छन्। यस वर्ष सातवटा चार्टर्ड उडान भएका छन्। चीनबाट राहत सामग्री लिएर दुईवटा विमान आएका थिए। भुटानबाट पनि चार्टर्ड उडान गरिएको थियो।
नयाँ विमानस्थल भए पनि पोखरामा सबै सेवा सुविधा छन्। अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल हरेक तवरबाट सक्षम रहेको प्रवक्ता रेग्मी बताउँछिन्। नयाँ बनेका संरचना भएकाले नयाँ-नयाँ सेवा सुविधा छन्। अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने सबै भौतिक संरचना, कर्मचारी, आधुनिक उपकरण छन्। तर, यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका हिसाबबाट बेकम्मा बनेको छ।
०००
देशकै पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अहिले पोखरा र भैरहवामा पनि अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा छन्। तर, ती दुवैमा क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान भएका छैनन्। राज्यकोषको ठूलो खर्च र चीनको ऋणसमेत रहेका यी विमानस्थल भविष्यमा ‘परित्यक्त हवाई अड्डा (अबान्डन्ड एयरपोर्ट)’ बन्ने लगभग निश्चित देखिएको छ।
गौतमबुद्व विमानस्थलले छिटपुट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ भने पोखरा विमानस्थलले आन्तरिक उडानमै चित्त बुझाउनुपरेको छ। जब कि, दुवै विमानस्थलसँग अन्तर्राष्ट्रिय उडानका भौतिक पूर्वाधार, जनशक्ति, कर्मचारी र आधुनिक उपकरण पनि छन्। दुवै विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको दाबी नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ।
गौतमबुद्ध : सातामा एउटा उडान, त्यो पनि घाटाको
अहिलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्नुअघि सोही ठाउँमा आन्तरिक उडान मात्र गर्ने एयरपोर्ट थियो। र, त्यो देशको व्यस्तमध्येको विमानस्थल थियो। उक्त आन्तरिक विमानस्थलको १७ फागुन ०२३ मा तत्कालीन युवराज वीरेन्द्र शाहले उद्घाटन गरेका थिए। त्यसैलाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो। तर, त्यो बेकम्मा सावित भएको छ।
माघ ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उक्त अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए। र, २ जेठ ०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यसको उद्घाटन गरेका थिए।
यो ४० अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको हो।
विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार यो विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको १२औं तहको अधिकृत महाप्रबन्धक हाकिम रहने व्यवस्था छ। उनी मातहत प्राधिकरणका मात्र ९० कर्मचारी कार्यरत छन्। उनीहरू चारदेखि १२औं तहसम्मका छन्। यो विमानस्थलमा दरबन्दी भने १४१ जनाको छ। विमानस्थल नै चलेको छैन, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति पनि भएको छैन।
अन्तर्राष्ट्रिय विमानस्थल भएकाले त्यहीअनुसारको सुरक्षा व्यवस्था पनि छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइएका छन्। अध्यागमन, भन्सार, हेल्थ क्वारेन्टाइन मात्र होइन, हुलाक पनि स्थापना भएका छन्।
कर्णेलको नेतृत्वमा नेपाली सेनाका ६० जना सैनिक तैनाथ छन्। नेपाल प्रहरीका एसएसपी नेतृत्वमा १४० र सशस्त्र प्रहरीका एसपीको नेतृत्वमा १० जना तैनाथ छन्। राष्ट्रिय अनुसन्धान विभागले पनि एसपीको नेतृत्वमा गुप्तचर टोली क्रियाशील छ।
अध्यागमन विभागका २२ र भन्सारका २२ कर्मचारी कार्यरत छन्। हेल्थ क्वारेन्टाइनमा चारजना छन् भने श्रम, हुलाक, कृषि, क्वारेन्टाइन कार्यालयले आवश्यकताअनुसार जिल्ला तहका कर्मचारी खटाउने गरेका छन्।
यो विमानस्थलबाट सातामा जम्मा एउटा नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ। त्यो पनि नेपाल वायु सेवा निगमको मात्र। मलेसियाको राजधानी क्वालालम्पुरबाट निगमको न्यारो बडी विमानले सातामा एक दिन मंगलबार उडान गर्दै आएको छ। अरू कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले भैरहवा उडान गर्दैनन्। निगमको जहाजको सिट क्षमता १५८ हो, बढीमा ४० जना यात्री लिएर आउँछ। त्यसैका लागि निगमले ३२ जना कर्मचारी राखेको छ, भैरहवामा।
आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले सेवा दिइरहेका छन्। तीनै एयरलाइन्सका कम्तिमा १२-१२ जना कर्मचारी कार्यरत छन्। आन्तरिकतर्फ अहिले दैनिक १३ वटा उडान भइरहेका छन्।
यात्रुको सहजताका लागि बैंक पनि खुलेका छन्। राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले शाखा खोलेका छन्।
नयाँ विमानस्थल भए पनि पूर्वाधारमा कुनै कमी छैन। विमानस्थल २४सै घण्टा खुला रहन्छ। अन्तर्राष्टिय विमानस्थलमा आवश्यक सबै सेवा सुविधा उपलब्ध छन्। तर, अन्तर्राष्ट्रिय उडान नै छैन, जसका लागि यो विमानस्थल निर्माण गरिएको हो।