काठमाडौं- बर्दिया बढैयाताल गाउँपालिका-३ सतपतियास्थित भित्री सडकमा सुर्खेतबाट जमुनी बर्दियातर्फ जाँदै गरेको भे.१ क १४९५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने रामु थारुको घर अगाडि आगो तापी बसिरहेका २ जनाको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय सोम बहादुर बिकको घटनास्थलमै र गम्भीर घाइते भएका ४५ वर्षीय रामु थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ बन्दिपुर गाउँपालिका-१ बेलभ्ञ्याङस्थित सडकमा लु.१ ख ९८३२ नम्बरको ट्रक र ग.१८ प ९२२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक ब्यास नगरपालिका-५ बस्ने २२ वर्षीय अनिल बाचेमगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय बिकास बिकको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन भरतपुर महानगरपालिका-१२ बसन्तचोकस्थित सडकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३ -००१-००५ ख ९९७० नम्बरको ट्रक आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सर्लाही लालबन्दी नगरपालिका बस्ने ४० वर्षीय मेघराज खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ लेवटस्थित सडकमा मे.१ च ५९९४ नम्बरको बोलेरो गाडी र को.१ क १३२८ नम्बरको टिपर एक-आपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा बोलेरो गाडीका चालक काठमाडौं बालाजु नयाँबजार बस्ने ४० वर्षीय शिब कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।