काठमाडौं– दशैं नजिकिएसँगै दशैं बसको टिकट मोबाइलबाटै काट्न सकिने भएकाे छ। अहिले बसको टिकट अग्रिम बुकिङका लागि विभिन्न अनलाइन माध्यमहरु सञ्चालनमा छन्। जसले घरमै बसीबसी मोबाइलबाटै बसको टिकट बुकिङ गर्ने सुविधा दिन्छ।
अनलाइन माध्यम ‘बस सेवा’ले ६० भन्दा बढी जिल्लाका लागि अनलाइन टिकट काट्ने सुविधा उपलब्ध ल्याएकाे छ। देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग सहकार्यको सम्झौता गरेकाे बस सेवाले बताएकाे छ।
बस सेवाबाट टिकट काट्ने सेवाग्राहीले ई-सेवा, फोन-पे, आईएमई-पे, माइ-पे, खल्ती, कनेक्ट आईपीएसलगायत माध्यमबाट पैसा तिर्न सक्नेछन्।
खनालका अनुसार अग्रिम बुकिङका लागि भने सरकारले अग्रिम बुकिङ खुलाएकै मितिदेखि मात्र अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ । बडादशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी पनि गरेको छ। यसका लागि सरकार र यातायात व्यवसायीबीच छलफल भइरहेकाे छ।
अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुले आफूलाई सहज हुने सिट पनि आफैं छान्न पाउने छन्। दशैंमा घर जान भनेजस्ताे सिट नपाएर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता पनि हट्नेछ।
यता आरामदायी बस सेवा टुरिस्ट बसले पनि मोवाइल एपबाटै टिकट काट्न सकिने सेवा ल्याएकाे छ। टुरिस्ट बस एसोसिएसन अफ नेपालले ‘टुरिस्ट बस नेपाल’ नामकाे आफ्नै मोबाइल एप बनाएको छ। अहिले काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर र चितवनका लागि टुरिस्ट बस चल्ने गर्छन्।
टुरिस्ट बसमा अग्रिम बुकिङका लागि सरकारको घोषणा पर्खनु नपर्ने टुरिस्ट बस सेवाले बताएकाे छ। यात्रुले दशैंका लागि पनि मंगलबारबाटै टिकट बुकिङ गर्न सकिने बताए।
टुरिस्ट बसमा टिकट काटेकाे भुक्तानी खल्ती, प्रभु पेबाट गर्न सकिन्छ।