वीरगंज-मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलंगवामा दुई पक्षबीचको विवादलाई लिएर वीरगंज पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सद्भाव र्याली निकालिएकाे छ।
वीरगंज महानगरपालिकाको अगुवाइमा आज धार्मिक सद्भाव र्याली निकालिएकाे हाे। वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किएकाे धार्मिक सद्भाव र्यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायत सबैपक्षसँग महानगरपालिकाले अपिल गरेको छ।
सर्लाहीको मलंगवामा दुई पक्षबीचको विवादका कारण वीरगंजमा पनि बन्द, हडताल र प्रदर्शन हुन थालेपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक सद्भाव र्याली निकालिएकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकमा सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो।
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्तिसुरक्षा, अमनचयनमा असर पर्नेगरी धार्मिक एवं सामुदायिक प्रकारको र्याली, जुलुश, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।