काठमाडौं- आज १७ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९७८- म्याम्प डेभिड सम्झौतामा हस्ताक्षर
आजकै दिन इजिप्टका राष्ट्रपति अनवर एल सदात र इजरायली प्रधानमन्त्री मेनाचेम बेगिनबीत क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर भएको थियो। यो सम्झौता सन् १९७४ मा इजिप्ट र इजरायलबीच सम्पन्न शान्ति सन्धिको निरन्तरता थियो।
– सन् १९३९- आधा घण्टामै १० हजार मिटर दौडेर कीर्तिमान
विश्व इतिहासमा फिनल्यान्डका धावक टाइसो माकीले अनौठो कीर्तिमान कायम राखेका थिए। उनले आधा घण्टामै १० हजार मिटर दौडेर कीर्तिमान राखेका हुन्। उनले उक्त दूरी पार गर्दा २९ मिनट ५२ सेकेन्ड मात्र भएको थियो।
– सन् १८९४- यल्लो रिभरको लडाइँमा जापानको जित
प्योङयाङ युद्धमा विजय हासिल गरेको एक दिनपछि जापानले यल्लो रिभरको लडाइँमा चीनलाई पनि पराजित गरेको थियो। यसलाई यल्लो सीको युद्धको नामबाट पनि चिनिन्छ। र, यो चीन-जापान युद्धको एक हिस्सा थियो।
– सन् १८०९- स्विडेन र रुसबीच फ्रेडरिकसमन सन्धिमा हस्ताक्षर
सन् १८०९ मा आजकै दिन रुस र स्विडेनबीच फ्रेडरिकसमन सन्धिमा हस्ताक्षर भएको थियो। यसलाई हामिना सन्धिको नामबाट पनि चिनिन्छ। यस सन्धिले फिनिस युद्ध अन्त्य भएको थियो। स्विडेनका क्षेत्रहरू फिर्ता गरेर रुसका लागि फिनल्यान्डको गठन गरिएको थियो।