पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद तथा रास्वपाबाट निश्कासित सदस्य डा.ढाका कुमार श्रेष्ठमाथि जानलेवा हमला भनेर अफवाह फैलाउने एक युवक पक्राउ परेका छन्।
श्रेष्ठलाई उनकै निवास अगाडि अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने स्याङजा आँधीखोला गाउँपालिका वडा नम्बर ५ ठुलीबराहाका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ बताएकाे छ।
डा. श्रेष्ठले कारबाहीको माग गर्दै उजुरी दिएपछि कास्की प्रहरीले रेग्मीलाई पक्राउ गरेकाे हाे।
उनलाई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ।
‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएकोर उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी,’ केही दिनअघि रेग्मीले स्टाटस् लेखेका थिए।