काठमाडौं- आज तीनवटा प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना देखिएको छ। यस्तै, गण्डकी र लुम्बिनीका केही तथा कोशी, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका १-२ स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
वर्षाका कारण नदीनालामा जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्राकृति प्रकोप हुन सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, भारतको दक्षिण-पश्चिम उत्तर प्रदेशको आकाशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै र बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।