जनकपुरधाम– धनुषाको कमला नगरपालिका-१ मंगराहामा आयोजना गरिएको कृष्णाष्टमी मेलामा आरकेस्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि कुटपिट भएकाे छ।
शुक्रबार राति मेलाका लागि डिजेल लिएर फर्किरहेका आयोजक समुहका युवालाई केही अन्य युवाहरूले राेकेर कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा निर्घात कुटपिट गरेकाे प्रहरीले बताएकाे छ। उनीहरूलाई फलामे हतियारले कुटपिट गरेकाे देखिएको प्रहरीले बताएकाे छ।
कुटपिटबाट सिराहाका रवीन्द्र राम, दीपेन्द्र यादव र लभकुमार महरा सख्त घाइते भएका छन् भने आक्रमणकारीले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल, मोबाइल, २५ हजार रुपैयाँ नगद लगायतका सामान लुटेर लगेकाे घाइतेहरूले बताएका छन्।
घाइतेहरूले सोही ठाउँका अन्दाजी १८ वर्षीय विजय यादव सहितकाे समुहले ज्यानलेवा हमला गरेको बताएको छन्।
प्रहरीले दुई जनालाई पक्राउ गरेकाे र तीन जना फरार रहेको बताएको छ।