गलेश्वर (म्याग्दी)- उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ। हँसिलो मुहार छ। लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ। त्यसभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ। राणाशासनदेखि पञ्चायत र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उनीबाट टाढै बस्यो।
बगरफाँटमा भाइको गोठमा ८४ वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ। छोराछोरी र नाति-नातिना र पनाती पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरूको साथ छैन।
बुढेसकालको सहारा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्षअघि नै परलोक भइसके। बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँदिनन्। उसो त, शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाहीं बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउँछन्।
‘जसोतसो उहाँहरूको गुजारा चलिरहेको छ। भाइको गोठमा बसिरहनुभएको छ। बिरामी हुँदा अलिक बढी समस्या हुन्छ,’ कार्कीले भने, ‘तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ।’ बिरामी भएकै कारण ठूलो उपचार भने गर्नुपरेको छैन।
यी दम्पतीको दैनिकी सामान्य व्यक्तिजस्तै गरी बित्छ। आगो बाल्न दाउरा र झिँजा बटुल्नैपर्यो, बाँच्नका लागि खाना खानै पर्यो। त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा थापा खुशी व्यक्त गर्छन्।
बिहानै उठेर नित्य कर्म गरी भगवानको आराधना गर्ने थापाको पुरानै बानी हो। त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध-दही ल्याउने उनको काम हो। दिउँसो छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हँसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणि शर्मा बताउँछन्।
जीवनको उत्तरार्द्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन। अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ। ‘लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन,’ थापाले भने, ‘सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन्।’ ज्योतिषीले ११० वर्षको आयु बताएको उल्लेख गर्दै उनी ठट्यौली शैलीमा भन्छन्, ‘मर्दिन बाबु सानोतिनो रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजाँदैन।’
थापा दम्पतीलाई समय-समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ। कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरूलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरूले दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन्।