काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहकी श्रीमती चढेको सरकारी ट्राफिक प्रहरीले राेकेकाे विषयमा महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ।
सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको हाे।
महानगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा ‘अनावश्यक केरकार’ गरिएको उल्लेख गरेको छ।
‘आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए, जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए। सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे। नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो’ विज्ञप्तिमा भनिएकाे छ।
ट्राफिक प्रहरीले करिब ७ मिनेट उक्त सवारी साधनलाई रोकेर राखेको मेयर शाहको सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ। ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अबलम्ब नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएकाे छ
‘आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयु (NICU)मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’
विज्ञप्तिमा थप भनिएको छ
‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं।
यस्तो आचरणमा रहेका केही प्रहरीका कारण समग्र प्रहरीको सार्वजनिक छविमा आँच आउन सक्छ । पटक-पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ । तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन । यसर्थ, गलत आचरण भएका केही प्रहरीहरूमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइराख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौं।’