बैतडी– बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ। गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन्।
प्रत्येक बिहीबार धनगढी-पाटन-धनगढी उडान गर्दै आएको समिट एयरले १० चैत २०७८ मा अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन। यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए।
“यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो। भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ। भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ” उनले भने।
पाटन-धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा तीन हजार सात सय रुपैयाँमा हवाई उडान हुने गरेको थियो। पछिल्लो समय भने बढेर पाँच हजार रुपैयाँ पुगेको थियो।
हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार-व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए।
“हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ”, उनले भने, “नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन। नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ।”
करोडौँका संरचना प्रयोगविहीन
डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन्। तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन्।
तीन वर्षअघि ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ। विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताए।
“धेरै पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ। त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ हवाई सेवा सञ्चालन गर्नुपर्छ” उनले भने।
नियमित उडान नहुने र भाडा पनि महँगो भएको भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राही बताउँछन्। भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताए। “भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्न आवश्यक छ। भाडा समायोजन गरे यात्रुहरु पनि पाइन्छन्” उनले भने।
विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन्। नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताए। उनले भने, “नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ। नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ।”
धावनमार्ग टिकटक बनाउने थलो
जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ। उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो। साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ। विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनुका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन्।
द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो। २०३६ देखि २०५२ सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो। २६ वर्षपछि १७ असोज २०७७ मा समिट एयरले नै परीक्षण उडान गरी ३० असोजदेखि धनगढी-बैतडी-धनगढी साप्ताहिक रुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो।