काठमाडौं- आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ।
विभागका अनुसार पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी क्षेत्रका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। वर्षा हुने क्षेत्रका नदीनालामा पानीको सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको सम्भावना कायमै रहेको विभागले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। र, भारत आसामको पश्चिमी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी इलाकामा थोरै स्थानमा हल्कादेखि मध्यम तथा बाँकी क्षेत्रका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वागमती, गण्डकी र सुदूरपश्चिमका थोरै र बाँकी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।