काठमाडौं– सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ का श्याम खड्काले शेयर बजारका चर्चित व्यवसायी दीपेन्द्र अग्रवालले आफूलाई विश्वासमा लिई हस्ताक्षर गरेको चेक लिएर दुरुपयोग गरेको आरोप लगाएका छन्।
आईतबार पत्रकार सम्मेलन गर्दै उनले आफूपनि सञ्चालक भएकाे जुगल एण्ड गुगल क्रससर उद्योगमा दिपेन्द्रकाे पनि आगमन हुने भएपछि आफूले विश्वासमा खालि चेक दिएकाे बताए।
पीडित खड्काका अनुसार आफूसहित तीन जना व्यक्तिहरु मिलेर सञ्चालनमा रहेको उक्त क्रसरमा दीपेन्द्रको इन्ट्री हुने भएपछि अन्य दुई जना लगानीकर्ता बाहिरिएका थिए।
दीपेन्द्रकी श्रीमती मितामुरारिका अग्रवालको नाममा क्रसरको ५१ प्रतिशत शेयर लिने कागज तयार भएपछि पीडित खड्काले एक करोड २० लाख रुपैया रकम पाए। तर, विभिन्न कारणले क्रसरको ५१ प्रतिशत शेयर पास हुन नसकेपछि दिपेन्द्रलाई त्यहीको ८० रोपनी जग्गा पास गरेर दिएको उनी बताउँछन्। ८० रोपनी जग्गा दिँदा दिपेन्द्रले पहिला दिएको एक करोड २० लाख कट्टा गरेर बाँकी तीन करोड ५० लाख आफूलाई दिन बाँकी रहेको उनले बताए।
पीडित खड्काको भनाईअनुसार फेरि क्रसरमा सात करोडको लगानी गर्ने र व्यापार गर्ने दिपेन्द्रले प्रस्ताव ल्याएका थिए। दिपेन्द्रले कम्पनीमा कारोबार मिलाउनका लागि आफूसँग हस्ताक्षर गरेको खाली चेक मागेको र विश्वासमा परेर आफूले चेकमा हस्ताक्षर गरेर दिएको उनले बताए।
‘म मेलम्ची बस्छु। तपाईँ मलाई चार/पाँच वटा चेक सही गरेर दिनुस्। म तपाईंको खातामा पैसा हाल्छु, अनि म पटक-पटक गरेर निकालेर कम्पनी खरिद गरेर विशाल कम्पनी खडा गर्ने भनेर उहाँले मलाई विश्वास दिलाउनुभयो। मैले सहीमात्रै गरेर दिएँ,’ पीडित खड्काले भने।
विश्वासमा कम्पनीको कारोबार मिलाउन भनेर दिएको चेक दिपेन्द्रले दुरुपयोग गरेर चेक बाउन्स गराएको उनको दाबी छ। पीडित खड्काका अनुसार दीपेन्द्रले दुई पटक गरेर १० करोडको चेक दाबी गरेका छन्। चेकमा उल्लेखित रकम र मिति दीपेन्द्र आफैं वा अरु कसैले लेखेको हुनसक्ने उनले बताए।
दीपेन्द्रसँग एक करोड २० लाख रुपैयाँ लिएको उनको भनाई छ। उक्त रकम नेपालको कानुन अनुसारको ब्याज रकमसहित फिर्ताको लागि आफू तयार रहेको पनि पीडित खड्काले बताए।
दिपेन्द्रले आफूलाई विश्वासमा लिएर चेकको दुरुपयोग गरेको उनले बताए। आफूलाई दिपेन्द्रले चेकमा उल्लेखित रकम जसरी पनि उठाउँछु भनेर धम्की दिएको उनले बताए।