काठमाडौं– बाराकाे पचरौता नगरपालिका-५ का मोसाहेव मियर अन्सारीले छोराहरूको नागरिकता बनाउन सिफारिस माग्दा वडा अध्यक्ष लक्ष्मी यादवले घुस मागेको आराेप लगाएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले छोराहरू आशिक अन्सारी र समीर अन्सारीको नागरिकता बनाउन सिफारिस माग्दा वडा अध्यक्ष यादवले ४० हजार घुस मागेको बताएका हुन्।
जन्मको आधारमा नेपाली नागरिकता लिएका उनले श्रीमतीको नागरिकता बनाउँदा पनि दुई पटक गरेर ३८ हजार रुपैयाँ घुस दिएको बताए। घुस दिएपछिमात्रै वडा कार्यालयबाट नागरिकताको सिफारिस पाएको उनले बताए। पीडित अन्सारीले गत २९ असारमा छोराहरूको नागरिकताका लागि सिफारिस लिन जाँदा पनि वडा अध्यक्षले घुस मागेकाे बताए।
उनले श्रीमतीको नागरिकताको सिफारिसका लागि बुहारीको गहना बेचेर वडा अध्यक्षलाई घुस बुझाएको बताए। घुस रकम दिएपछि श्रीमतीको नागरिकताको लागि सिफारिस बनाइदिएको उनको दाबी छ।
दुई भाई छोराको नागरिकता बनाउन सिफारिस लिन जाँदा तीन दिनसम्म फाइल अड्काएर पैसा मागेको र ‘अहिले पैसा छैन, कमाएर दिन्छु’ भन्दा फाइल च्यातिदिएको उनले बताए।
उनले आफू र श्रीमतीको नेपाली नागरिकता रहेको पनि देखाए। साथै, आफूहरु सगोलमा रहेको भन्दै उक्त ठाउँमा भाईको नाममा जग्गा रहेको जग्गा धनी प्रमाण पुर्जासमेत देखाए। आफूले पैसा दिएर छोराहरुको नागरिकता बनाउन नसक्ने उनले बताए।
‘मेरो श्रीमतीको नागरिकता बनिसक्यो। मेरो भाईको नाममा जमिन छ, हामी एकै ठाउँमा बसेका छौं। छुट्टै छैनौं। छोराको स्कूलको प्रमाणपत्र पनि छ। नागरिकता बनाउन दिने पैसा मसँग छैन। नबनेपछि फाँसी लगाएर मर्छु,’ आफूसँग रहेका विभिन्न प्रमाणहरु देखाउँदै उनले भने।