काठमाडौं- आज तीनवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारी र धेरै भारी वर्षा हुन सक्ने प्रदेशमा कोशी, मधेश र वागमती छन्। विभागका अनुसार ती प्रदेशका कतिपय स्थानमा भारी र कतिपयमा धेरै भारी वर्षाको सम्भावना देखिएको छ।
यस्तै, कोशी, मधेश, वागमती, लुम्बिनी र गण्डकीका केही ठाउँमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
वर्षाका कारण नदीनालामा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप हुन सक्ने र त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ।
हाल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै, नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भेग र बंगलादेशको उत्तरी क्षेत्रमा विकसित न्यून चापीय क्षेत्रको समेत प्रभाव देखिएको छ।
आज दिउँसो कोशी, मधेश र वागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र वागमतीका केही र बाँकी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
आज राति कोशी, मधेश र वागमतीमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ।