काठमाडौं- मोरङ, विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सुन्दर हरैचा नगरपालिका–४ बस्ने ३५ वर्षीय अनिल शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका–१० दोदा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ डोकेबजार बस्ने २० वर्षीय सुमित चौधरी र १९ वर्षीय जोगराज चौधरी रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका–८ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय गोविन्द रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिरहा, गोलबजार नगरपालिका–६ दुर्गामन्दिरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नरहा गाउँपालिका–५ बस्ने १९ वर्षीय रन्जन यादव, सोही नगरपालिका–६ मझौवा बस्ने २६ वर्षीय धर्मेन्द्र महतो र मिर्चैया नगरपालिका– ५ बस्ने ३१ वर्षीय दिपेन्द्र कुमार साह रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको प्रहरीले म.प्र ०२– ००६ प १२४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउगरेको हो ।
धादिङ, गल्छी गाउँपालिका–७ वाईसकिलाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित मकवानपुर कैलास गाउँपालिका बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले ना.५ ख ५८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।