काठमाडौं- आज २५ अगस्ट। विश्व राजनीति र समाजका विभिन्न परिघटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् २०१२- पहिलो अन्तरिक्ष यान इन्टरस्टेलर स्पेसमा
नासाको ‘भोएजर १’ अन्तरिक्ष यानले पहिलोपटक हाम्रो आकाशगंगाभन्दा बाहिरको अन्तरिक्षमा आजकै दिन प्रवेश गरेको थियो, जसलाई इन्टरस्टेलर स्पेस भनिन्छ। ५ सेप्टेम्बर १९७७ मा उक्त अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो। हाम्रो सूर्यबाट प्रभावित अन्तरिक्ष क्षेत्र ‘हेलियोस्फियर’बाट यो यान बाहिर पुगेको थियो। धर्तिबाट प्रक्षेपित पहिलो अन्तरिक्ष यान ‘हेलियोस्फियर’को क्षेत्रबाट बाहिर पुगेको हो। यो ब्रह्माण्डमा सबैभन्दा टाढा पुगेको अन्तरिक्ष यान हो।
– सन् १९४४- पेरिसको मुक्ति
फ्रान्सको राजधानी पेरिसलाई नाजी शासकको नियन्त्रणबाट मुक्त गर्न शुरु भएको लडाईं आजकै दिन समाप्त भएको थियो। र, पेरिस नाजीको पञ्जाबाट मुक्त भएको थियो। सन् १९४० देखि पेरिस नाजीको नियन्त्रणमा गएको थियो। १९ अगस्ट १९४४ मा शुरु भएको यो लडाईं ६ दिनपछि अन्त्य भएको थियो। यो लडाईंमा नाजीका सैनिकसँग फ्रेन्च रेसिस्ट्यान्स ग्रुपबीच भएको थियो। फ्रेन्च समूहलाई जर्नेल जर्ज प्याटोन नेतृत्वको अमेरिकी सशस्त्र समूहले साथ दिएको थियो। नाजी जर्नेल डिट्रिच भोन चोल्टिजले फ्रान्स सामु घुँडा टेकेका थिए।
– सन् १८३५- चन्द्रमामा सभ्यताको खोजी
न्युयोर्कस्थित अखबार ‘दी सन’ले आजदेखि चन्द्रमामा सभ्यताको खोजीसम्बन्धी आलेखहरूको शृंखला प्रकाशन शुरु गरेको थियो। चन्द्रमामा सभ्यताको खोजीसम्बन्धी हालसम्मका विवरण ती आलेखमा प्रकाशित गरिएको थियो। जसलाई ‘ग्रेट मुन होक्स’ नाम दिइएको थियो।
– सन् १८२५- उरुग्वे स्वतन्त्र
१९८ वर्षअघि आजकै दिन उरुग्वे ब्राजिलको पञ्जाबाट मुक्त भएको थियो। र, उरुग्वेलाई स्वतन्त्रता मिलेको थियो। तर, ब्राजिली राजतन्त्रले त्यसलाई मान्यता दिएको थिएन। सन् १९२८ मा मोन्टेभिडियो सन्धिमा हस्ताक्षरपछि मात्र ब्राजिली राजतन्त्रले उरुग्वेको स्वतन्त्रतालाई मान्यता दिएको थियो।
– चेंगिज खान र निल आर्मस्ट्रङको निधन
सन् १२२७ मा आजकै दिन विश्व विजेता मंगोलियन सम्राट चेंगिज खानको निधन भएको थियो। यिनी विश्व इतिहासमै सबैभन्दा धेरै क्षेत्र जितेका एक मात्र शासक हुन्। त्यसका लागि उनले अनेकौं सैन्य अभियानको नेतृत्व गरेका थिए। खासगरी, हालको चीनको ठूलो क्षेत्र र मध्य एसिया उनको कब्जामा गएको थियो।
यस्तै, पहिलोपटक चन्द्रमामा मानव पाइला राखेका निल आर्मस्ट्रङको पनि आजकै दिन सन् २०१२ मा निधन भएको थियो। उनी ५ अगस्ट १९३० मा जन्मेका थिए। अमेरिकी खगोलशास्त्री तथा एरोनटिकल इन्जिनियर उनले सन् १९६९ मा पहिलोपटक चन्द्रमामा मानव पाइला राखेका थिए।