काठमाडौं- आज सबै प्रदेशमा वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, वागमती, गण्डकी, लुम्बिनी र मधेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
खासगरी, भारी वर्षा हुने क्षेत्रमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। र, भारत उत्तर प्रदेशको उत्तरी भूभागमा विकसित न्यून चापीय रेखाको पनि प्रभाव नेपाली आकाशमा देखिएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही र कोशी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, वागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना छ।