काठमाडौं– सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्दै आएका २९ वर्षीय तुफान केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।
फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको हाेला भनि रिसिभ गर्दा केसीले अश्लीलता प्रदर्शन गरेको उजुरी परेकाे प्रहरीले बताएकाे छ।
पीडित महिलालाे त्यस्ताे छाडा गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्विरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरेर चरित्रहत्या गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेकाे हाे।
उजुरी परेपछि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा साे क्रियाकलापमा केसीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएकाे छ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।