काठमाडौं– चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएकाे छ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपालले जितका लागि पाएकाे ८५ रनको लक्ष्य १५.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्याे।
नेपालकाे जितका लागि सम्झना खड्काले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्रीले १०, सीता रानामगरले ३ र इन्दु बर्माले ९ रन बनाए।
हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको थियाे। हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिए ।
नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य छन्।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी आई सिरिज खेलिरहेका छन्। यही ३१ अगष्टदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेल्न लागेको हो।