तनहुँ– व्यास नगरपालिका-१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन्।
विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन्। गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंहा, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन्। तालिम पहिलो चरणमा एक महिनासम्म सिकाइने विद्यालयले जनाएको छ।
“यति छिट्टै बजाउन सकिएला भन्ने लागेको थिएन, सुन्दा आनन्द लाग्ने धुन निकाल्न बढी नै मेहनत चाहिने रहेछ” तालिमको दौरान ट्याम्को बजाउँदै गरेका कक्षा १० का विद्यार्थी आश्रुत लामिछानेले भने।
नौमती बाजा बजाउने तालिममा लामिछानेसहित कक्षा ७ का साहिल नेपाली, सफल विक, कक्षा ८ का पुरन थापा, सुमन नेपाली र निम दोर्जे शेर्पा, शिक्षकहरु नेत्रबहादुर दरै, सञ्जीता दरै, शान्तिकुमारी दरै, रमा दरै, अस्मिता आले, भरतबहादुर श्रेष्ठ र गोपाल थापा, अभिभावकहरुमा नेत्रप्रसाद पौडेल, दुर्गा सापकोटा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास रिजाल छन्।
आफूले तालिममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई नौमती बाजाको ताल र चरणका बारेमा जानकारी गराएको प्रशिक्षक थापाले बताए। सहभागीले सबै बाजा बजाउन १० दिनमै सिके पनि सहनाइ र नरसिंहा बजाउन भने करिब तीन महिनाको समय लाग्ने प्रशिक्षक थापाले बताए।
यसअघि आफूले विभिन्न समुदायलाई नौमती बाजा बजाउने तालिम दिए पनि विद्यालय स्तरका बालबालिका, शिक्षक र अभिभावकलाई तालिम दिएको यो दोस्रो भएको प्रशिक्षक थापाले बताए। विद्यालयस्तरकै बालबालिकालाई यसरी नौमती बाजा बजाउन सिकाउनुले संस्कृतिको संरक्षणमा टेवा पुग्ने आफूले ठानेको उनले बताए।
नियमित कक्षालाई असर नपर्ने गरी अतिरिक्त कक्षाका रुपमा आफूहरुले विद्यार्थी, शिक्षक र केही अभिभावकलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताए। लोप हुँदै गएको बाजालाई विद्यालय तहबाटै संरक्षण गर्नुपर्ने ठानेर आफूहरुले एक महिने तालिम दिएको उनले बताए।
तालिममा सहभागीले बाजा बजाउन सिकेर नौमती बजाउन इच्छुक अन्य विद्यार्थीलाई समेत सिकाउँदै लैजाने योजना विद्यालयको रहेको प्रधानाध्यापक कोइरालाले बताए। नौमती बाजाका अलावा विद्यालयले नृत्य शिक्षकसमेत राखेर विद्यार्थीलाई नृत्य प्रशिक्षण दिँदै आएको जनाएको छ। नौमती बजाउने तालिमका लागि करिब एक लाख रुपैयाँ खर्च हुने विद्यालयले जनाएको छ।
“नौमती बाजा लोप हुँदै गएको छ, अब विद्यालय तहबाटै संरक्षण गर्नुपर्छ भनेर नै हामीले तालिम प्रदान गरेका हौँ”, उनले भने, “यो तालिम दिएपछि सबैतिरबाट अहिले सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको छ।” तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आफूहरुले तिहारमा खेलिने देउसीभैलो, विभिन्न सांस्कृतिक पर्व र विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीबाट नौमती बजाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए।
“सिकेको सीपलाई त्यसै खेर जान दिइने छैन”, उनले भने, “नौमती बाजाको संरक्षणका लागि हाम्रा विद्यार्थी अग्रसर भएका छन् भन्ने सन्देश दिन आवश्यक छ।”
विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त बैठक बसी नौमती संरक्षण गर्न अग्रसर रहने प्रतिबद्धता गरी तालिम दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए। उक्त विद्यालयमा हाल दुई सय १२ विद्यार्थी र २१ शिक्षक छन्।