काठमाडौं- आज १९ अगस्ट। आजको दिन विश्व इतिहासमा कस्ता परिघटना भएका थिए ? प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९१- न्युयोर्कमा दंगा
अमेरिकाको न्युयोर्कस्थित क्राउन हाइट्स इलाकामा आजकै दिन दंगा भड्किएको थियो। त्यस इलाकामा बस्ने अफ्रिकी-अमेरिकी र अर्थोडक्स यहुदी समुदायबीच उक्त हिंसा भएको थियो। यहुदी नेता मेनाकेम मेन्डल स्निरसनको कारगेटमा दुई बालक मारिएपछि हिंसा भड्किएको थियो। ३ दिनसम्म जारी झडपमा थप दुईजनाको मृत्यु र दर्जनौं घाइते भएका थिए।
– सन् १९७८- इरानमा सिनेमा हलमा आगलागी
यो घटनामा ४०० जनाभन्दा बढीको मृत्यु भएको थियो। इरानको अबादानस्थित रेक्स सिनेमा घरमा आगलागी भएको थियो। यो घटनालाई इरानी क्रान्तिको एक मुख्य कडी मानिन्छ। निर्देशक मसुद किमियाईको फिल्म ‘द डियर्स’को स्क्रिनिङका क्रममा आगलागी भएको थियो। चारजना अतिवादीहरूले गेट बन्द गरिदिएर सिनेमा घरमा आगो लगाइदिएका थिए। तथापि, उक्त घटना इरानी गुप्तचर एजेन्सी साभाकले गराएको आरोप लाग्दै आएको छ।
– सन् १९६४- विश्वको पहिलो जियोस्टेसनरी स्याटेलाइट प्रक्षेपण
आजकै दिन विश्वकै पहिलो जियोस्टेसनरी स्याटेलाइट ‘सिन्कम ३’ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। यो सञ्चार उपग्रह फ्लोरिडाको केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको थियो। सोही उपग्रहको माध्यमबाट सन् १९६४ मा जापानमा सम्पन्न टोकियो ओलम्पिकलाई अमेरिकामा प्रसारण गरिएको थियो।
– सन् १९६०- सोभियत संघको ‘स्पुतनिक ५’ प्रक्षेपण
आजकै दिन तत्कालीन सोभियत संघले ‘स्पुतनिक ५’ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। सोही अन्तरिक्ष यानमा स्ट्रेल्का र बेल्का नाम दिइएका दुई कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो। दुवै कुकुर अन्तरिक्षमा पुगेर पनि धर्तिमा जीवित फर्कन सफल भएका थिए।
– सन् १९१९- ब्रिटेनबाट अफगास्तिान स्वतन्त्र
अफगानिस्तान आजकै दिन तत्कालीन ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको थियो। अफगानिस्तानमाथि ब्रिटेनले सन् १८५९ मा कब्जा जमाएको थियो। यो मुलुकलाई ब्रिटिसहरूको अफिम व्यापारको मुख्य केन्द्र मानिन्थ्यो। र, भारतमा आफ्नो हित प्रबर्द्धनको कडीका रूपमा अंग्रेजहरूले उपयोग गरेका थिए। तथापि, अफगानी नागरिकहरू सधैं अग्रेजहरूको विपक्षमा रहे। र, राजा अमानुल्लाहले सन् १९१९ मा आफ्नो मुलुक स्वतन्त्र भएको घोषणा गरे। उक्त घोषणालगत्तै एंग्लो-अफगान युद्ध शुरु भयो, जुन आजकै दिन रावलपिन्डी सन्धिमा हस्ताक्षरसँगै समाप्त भयो। अनि अफगानिस्तान स्वतन्त्र मुलुक बन्यो।
– सन् १९४६- बिल क्लिन्टनको जन्म
अमेरिकाका ४२औं राष्ट्रपति बिल क्लिन्टन आजकै दिन जन्मेका हुन्। राष्ट्रपति छँदा मोनिका लेवेन्स्कीसँगको अनैतिक सम्बन्धका कारण विवादमा आएका थिए, क्लिन्टन। उनी दुई कार्यकाल अमेरिकाको राष्ट्रपति रहे।
– सन् १८७१- ओर्भिल राइटको जन्म
आधुनिक हवाई जहाजका आविष्कारक ओर्भिल राइट आजकै दिन जन्मेका थिए। उनले आफ्ना दाजु विल्बर राइटसँग मिलेर विश्वको पहिलो मोटर-अपरेटेड हवाई जहाज आविष्कार गरेका थिए। उनका दाजु विल्बर राइटको जन्म सन् १८६७ मा भएको थियो। १७ डिसेम्बर १९०३ मा उनीहरूले नर्थ क्यारोलिनामा आफ्नो जहाजको सफल परीक्षण उडान गरेका थिए।