पाेखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन्।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताएका हुन्। “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छाैँ, नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ” उनले भने।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई केही समय कुरौँ र आग्रह गरौँ, यदि केन्द्रले वास्ता नगरे प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने आश्वाशन दिएको उनले बताए।
पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्ने उनले बताए।
पर्यटकीय राजधानी घोषणासँगै यहाँका होटेलको स्तरोन्नति गर्नुपर्नेमा आचार्यले बताए। पर्यटकलाई चाहिने पाँच तारेदेखि साना होटल घरजस्तो नभइ होटलजस्तो बनाउनुपर्ने उनले बताए। पर्यटकको बसाईं लम्ब्याउन पनि यहाँका पर्यटन व्यवसायीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी भएको उनले बताए। पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा उनले बताए।