काठमाडौं- आज १६ अगस्ट। विभिन्न विश्व घटनाका कारण आजको दिनलाई स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६०- बेलायतबाट साइप्रस मुक्त
भूमध्यसागरीय टापु मुलुक साइप्रस आजकै दिन बेलायतको उपनिवेशबाट मुक्त भएको थियो। २०औं शताब्दीको शुरुवातमा साइप्रस बेलायतको उपनिवेश बनेको थियो। सन् १९२५ मा यो मुलुक आधिकारिक रूपमा बेलायतको कब्जामा गएको थियो। फेब्रुअरी १९५९ मा सम्पन्न लन्डन र जुरिच सम्झौताअन्तर्गत साइप्रसले स्वतन्त्रता पाएको थियो।
– सन् १८५८- पहिलो ट्रान्स एटलान्टिक टेलिग्राफ सन्देश
१६५ वर्षअघि आजकै दिन पहिलोपटक ट्रान्स एटलान्टिक टेलिग्राफ सन्देश प्रवाह गर्न सम्भव भएको थियो। पहिलो सन्देश बेलायती महारामी भिक्टोरियाले तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स बुचाननलाई पठाएकी थिइन्। सन्देशमा लेखिएको थियो, ‘युरोप र अमेरिका टेलिग्राफिक सञ्चारमा गाँसिएका छन्। ईश्वरको कृपाबाट पृथ्वीमा शान्ति र मानव जातिमा सदभावना अझ बढोस्।’ तथापि, यो सेवा केही महिना मात्र कायम रह्यो। प्राविधिक समस्याका कारण अक्टोबर १८५८ मा बन्द हुन पुग्यो।
– सन् २०१८- केरला बाढीमा १०६ को मृत्यु
भारतको केरला राज्यमा आएको बाढीमा परी आजकै दिन १०६ जनाको ज्यान गएको थियो। घटनामा डेढ लाखभन्दा बढी नागरिक घरबारविहीन भएका थिए।
– सन् २००३- एल्भिस प्रिस्ले र इदी अमिनको मृत्यु
अमेरिकाका प्रख्यात गायक एल्भिस प्रिस्लेको सन् १९७७ मा आजकै दिन निधन भएको थियो। यस्तै, मानव इतिहासकै अति क्रुर तानाशाह मानिएका युगान्डाका शासक इदी अमिनको पनि आजकै दिन मृत्यु भएको थियो।