काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ।
देशका अन्य भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुने सक्ने आकलन छ।
हाल वर्षा गराउने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।