काठमाडौं- रंगमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्छन्। उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन्। लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक पनि रंगमञ्चसम्म धाउने गर्छन्।
अहिले सानोदेखि शीर्ष भूमिकासम्म पनि उनीहरूको उपस्थिति छ। यद्यपि, चलचित्रमा स्थापित भएका रंगकर्मी रंगमञ्चमा भने कमै फर्किने गरेका छन्। चलचित्रको व्यस्तताले उनीहरूलाई रंगमञ्चमा फर्किन सहज भएको छैन। कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको छ।
‘नाटकलाई समय दिनुपर्छ। अभ्यास र मञ्चन गर्न झन्डै दुईदेखि तीन महिनासम्म लाग्ने भएकाले पनि धेरैलाई समय मिलाउन सहज नभएको हुनसक्छ,’ अभिनेता महेश त्रिपाठीले भने, ‘म भने समय मिलाएर नाटकमा अभिनय गरिरहेको हुन्छु। किनकि, त्यहाँ आफूलाई महशुस गर्न पाउँछु।’
व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रंगकर्मीहरूको भनाइ छ। रंगकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए। ‘रंगकर्मीलाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन। अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहींबाट शुरुआत नगरेका भने होइनन्। तर, यो अभिनय बुझ्ने र सिक्ने मञ्च मात्र बनिरहेको छ,’ उनले भने।
आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ। रंगकर्मी प्रकाश घिमिरेले समय अभावकै कारण नाटकघरसम्म आउन विलम्ब भएको बताए। ‘चलचित्रमा व्यस्त कलाकारले समय मिलाउन सकेका छैनन्। उनीहरूले वर्षमा एकैपटक नाटक घरलाई दिए राम्रो हुन्थ्यो,’ उनले भने, ‘नाटक गर्ने तयारी र सोच भने छ। यस वर्ष केही परिचित अनुहार नाटकमा पाइनेछ।’ उनले पनि हालै सम्पन्न एक नाटकमा चलचित्रकै कारण अभिनय गर्न पाएनन्।
आर्थिक रूपले समृद्ध भए वर्षमा १-२ पटक नाटकमा प्रस्तुत हुनसके टेवा पुग्ने विश्वास उनको छ। नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रंगकर्मीलाई रंगमञ्चमै भने अहिले विरलै देख्न पाइन्छ।