काठमाडौं– एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप-२०२३ को आफनो पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।
मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा भएको प्रतियोगितामा नेपालले दिएकाे २ सय ७० रनको विजय लक्ष्य लिएर पछ्याएकाे थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो।
नेपालका लागि सन्तोष यादवले ५ विकेट लिए। त्यस्तै अशोक धामीले ३ र कप्तान अविषेक तिवारीले २ विकेट लिए।
नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए। त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे।
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया र थाइल्यान्ड छन्। पहिलो खेलमा मलेसियासँग पराजित भएको थाइल्यान्ड नेपालसँग पनि पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन्।