नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जमा झण्डै डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव भएको छ।
अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन्। अस्पतालले सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ। अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ।
स्थानीयवासी सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको जानकारी दिइन्। निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिई अस्पताल आएकी थिइन् उनी।
जहाँबाट खोप आपूर्ति हुने हो, त्यहाँबाटै आपूर्ति नभएकाले अभाव भएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए। त्यसका लागि पहल भइरहेको उनले बताए।
अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एक सय हाराहारीमा आउने गर्छन्। संघबाट प्रदेश र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने गर्छ। कुकुरले टोकेकोलगायतका अवस्थामा सो खोप दिने गरिन्छ।