ताप्लेजुङ– ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका-६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि पुगे पनि भारी वर्षा र मौसमका कारण निलगिरि माविको खेलमैदानमा डेढघण्टा रोकिएको थियो। मौसममा केही सुधार आएसँगै हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।
पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए। “उहाँसँगै उद्धार गरिएका सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा केशरकुमार मृत अवस्थामा फेला परेका छन्”, उनले भने।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ। आज बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। आइतबार सोही गाउँका ३० वषीृय गणेश तामाङको शव फेला परेको थियो।
प्रहरी नायब उपरीक्षक लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री अझै बेपत्ता छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए।
पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका जिल्ला कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशुराम कार्कीले बताए।
निरन्तर अविरल वर्षा भइरहेकाले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए।